हेटौँडाः हेटौँडामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबार क्वार्टरफाइनलका दुई खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।
मंगलबार भएको क्वार्टरफाइनल खेलमा विजयी हुँदै सहिद स्मृति क्लब र हाँडीखोला एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । गोर्खा ब्वाइज क्लबलाई २–० गोेलले हराउँदै सहिद स्मृति सेमिफाइनमा प्रवेश गरेको हो । सहिद स्मृतिको जीतमा उप्रान्त आले मगर र मेषक राईले एक–एक गोल गरे । म्यान अफ द म्याच राई घोषित भए । सेमिफाइनमा प्रवेश गरेको सहिद स्मृतिले न्यु कम्बाइनसँग बिहीबार खेल्नेछ ।
यस्तै, मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा लिगको साविक विजेतासमेत रहेको न्यु डाँफे युवा क्लबलाई ३–१ गोलले हराउँदै हाँडीखोला एफसी सेमिफाइनलमा प्रवेश गरेको हो । हाँडीखोलाको जीतमा सञ्जीव गोलेले दुई तथा उत्सव खड्काले एक गोल गरे । डाँफेका सुशान्त तामाङले एक गोल फर्काए । म्यान अफ द म्याच खड्का घोषित भए । विजेता हाँडीखोलाले सेमिफाइनलमा बिहीबार पदमपोखरी युथ क्लबसँग खेल्नेछ । फाइनल असोज १२ गते हुनेछ ।