हेटौँडाः मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजाल र प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीको एकै पटक सरुवा भएको छ । एसपी रिजालको नेपाल प्रहरी विशेष सुरक्षा गण धनुषामा सरुवा गरिएको छ भने नायव उपरीक्षक भण्डारीको इलाका प्रहरी कार्यालय इटहरीमा सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै एकसाथ प्रहरी उपरीक्षक र नायव उपरीक्षकको सरुवा गरेको जनाएको छ ।

एकसाथ ४१ जना प्रहरी उपरीक्षक र एक सय ४३ जनाको सरुवा गरिएको छ । रिजाल सरुवासँगै मकवानपुरको कमाण्ड प्रहरी उपरीक्षक विश्वराज खड्काले सम्हाल्ने भएका छन् । काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा कार्यरत उनलाई मकवानपुर प्रहरी प्रमुखको जिम्मेवारी दिइएको हो । त्यस्तै मकवानपुरको प्रहरी नायव उपरीक्षकमा श्यामु अर्याललाई जिम्मेवारी तोकिएको छ । नेपाल प्रहरी विशेष सुरक्षा गण तनहुँमा कार्यरत अर्याललाई मकवानपुर सरुवा गरिएको हो ।