हेटौंडा उपमहानगरपालिका ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले शिक्षक बैंकमार्फत तीन जना शिक्षकलाई विभिन्न विद्यालयहरुमा परिचालन गरेको छ । प्रारम्भिक बालविकासतर्फ दुई जना र निमावि तहमा एक जना शिक्षक परिचालन गरिएको हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका वरिष्ठ विद्यालय निरीक्षक हरिचन्द्र सापकोटाले जानकारी दिनुभएको छ ।

सापकोटाका अनुसार हेटौंडा–१, नकौलीस्थित कालिका आधारभूत विद्यालय र हेटौँडा–१८ स्थित कालिदेवी प्राविमा दुई जना प्रारम्भिक बालविकास सहजकर्ता र हेटौँडा–१६ स्थित आकाशधारा पानीसारा प्राविमा शिक्षक परिचालन गरिएको छ । शिक्षा विकास महाशाखाले हेटौँडा उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा रिक्त हुने शिक्षक पदमा करारमा नियुक्ति गर्ने प्रयोजनका लागि शिक्षक बैंकमा सूचिकृत गर्न गत साउन २६ गते परीक्षा सञ्चालन गरेको थियो । प्रारम्भिक बालविकास सहजकर्तातर्फ ६५ जना सफल भएका छन् भने प्राथमिक तहतर्फ ४९ जना, निमावितर्फ १७ जना र मावितर्फ ८ जना शिक्षक हेटौँडा उपमहानगरपालिकाले स्थापना गरेको शिक्षक बैंकमा समावेश भएका छन् ।

विद्यालयमा शिक्षकको अभावमा नियमित पठनपाठन प्रभावित नहोस् भनी शिक्षक बैंक स्थापना गरी शिक्षक बैंकमा आवद्ध शिक्षकलाई रिक्त पदमा स्थापित गर्ने योजना उपमहानगरको छ । हेटौँडा उपमहानगरपालिकाले शिक्षक बैंक स्थापनाका लागि सम्पन्न गरेको प्रक्रियामा गणित विषयको शिक्षक भने एकजना पनि सहभागी भएका छैनन् ।