हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगितामा शनिबार समूह चरणको ४ खेल सम्पन्न भएको छ । हेटौंडा–११ स्थित सिमलटार मैदानमा ३ वटा र हेटौंडा–६ स्थित गौरीटार रंगशालामा एउटा खेल सम्पन्न भएको हो ।
सिमलटार मैदानमा भएको पहिलो खेलमा प्रगतिशील युवा क्लबलाई १–० गोलले हराउँदै प्रतिभा युवा क्लब विजयी भएको छ । सिमलटारमै भएको सक्षम युवा क्लब र हेटौंडा भेट्रान्स क्लबबीचको खेल एक–एक गोलको बराबरीमा रोकिएको छ भने एफसी मल्टिभिजन क्लबलाई १–० गोलले हराउँदै पदमपोखरी विजयी भएको छ ।
गौरीटारमा भएको खेलमा रियल स्टार क्लबलाई १–० गोलले हराउँदै पिप्ले युवा क्लब विजयी भएको हो । प्रतियोगिताअन्तर्गत समूह ‘क’को विजेता बन्दै एफसी पोताला र उपविजेता बन्दै सक्षम युवा क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ । समूह ‘ख’बाट विजेता बन्दै गोर्खा ब्वाइज क्लब र उपविजेता बन्दै न्यू डाँफे क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ । यस्तै, समूह ‘ग’को विजेता बन्दै पदमपोखरी र उपविजेता बन्दै न्यू कम्बाइन क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताअन्तर्गत आइतबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा दुई र हेटौंडा–६ स्थित गौरीटार रंगशालामा एक खेल गरी ३ खेलहरु हुनेछ । पिप्लेमा पहिलो खेलमा हाँडीखोला र चाइना क्वार्टरबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा सहिद स्मृति र प्रगतिशील युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, गौरीटारमा हुने खेलमा युनाइटेड नाइन र प्रतिभा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
खेल बिहान ८ बजेबाट सुरु हुनेछ । प्रतियोगिताअन्तर्गत ८ गते क्वार्टरफाइनल, १० गते सेमिफाइनल र १२ गते फाइनल खेल हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।