हेटौँडाः हेटौँडामा भएको मकवानपुर जिल्लास्तरीय भेट्रान्स भलिबल प्रतियोगिताको उपाधि नारायणी कलेजले जितेको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजना तथा छहारी सेवा समाजको सहआयोजना शनिबार सम्पन्न भएको फाइनल खेल भएको हो।
हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा सम्पन्न भएको फाइनल खेलमा नारायणी कलेजले भीमफेदी गाउँपालिकाको भेट्रान्स टिमलाई ३–१ को सेटले पराजित गरेको हो । पहिलो सेटमा भीमफेदीसँग नारायणी कलेज १८-२५ ले पराजित हुनुपरेको थियो । नारायणी कलेजले भीमफेदीलाई पछिल्ला ३ सेट क्रमशM २५–१५, २५–२१ र २५–१८ ले सहजै पराजित गरेको हो ।
उपाधि जितेसँगै नारायणी कलेजले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता भीमफेदीको टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । खेलको प्लेयर अफ द डे मकवानपुरगढीका शंकर गौतम घोषित हुँदै ट्रफी प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै नारायणी कलेजका प्रकाश चालागाईंले जनही २ हजार रुपैयाँको नगद प्राप्त गरे । उत्कृष्ट प्रशिक्षक नरायणीकै इश्वर छत्कुली, डिफेन्डर नारायणीकै नविन राजबाहक, उत्कृष्ट सेटर विनोद सुवेदी र उत्कृष्ट स्पाइकर भीमफेदीका रत्नसिद्धि लामा घोषित हुँदै जनही १ हजार रूपैयाँ प्राप्त गरेका छ्न् ।
छहारी युवा सेवा समाजका उपाध्यक्ष पुष्प मैनालीको सभाध्यक्षता तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको हो । पुरस्कार वितरण कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला, भलिबल संघका अध्यक्ष बसन्त सिटौला, नारायली कलेजका प्राचार्य रघुनाथ खराल,हेटौंडा उपमहानगरपालिका भलिबल संघला अध्यक्ष राजु घले गुरुङ, कार्यक्रम संयोजल पुष्प मैनाली, आयोजक सदस्य मनोज लामा लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । प्रतियोगितामा ११ वटा टिमको सहभागिता रहेको थियो ।