हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकाले गाउँपालिका अन्तर्गतका विद्यालयहरुलाई आवश्यकताअनुसार समायोजन गर्ने तथा शिक्षक दरबन्दी मिलान गर्ने भएको छ । गाउँपालिकाका शिक्षा शाखा अधिकृत सूर्यबहादुर थिङका अनुसार दरबन्दी रिक्त रहेका पदमा करार शिक्षक नियुक्त गर्ने गरी विषय विशेषज्ञ चयन गर्ने काम समेत भइसकेको छ । गाउँपालिकामा १–३ कक्षासम्म सञ्चालनमा रहेका २ वटा विद्यालयमा विद्यार्थी संख्या न्युन र शिक्षक दरबन्दी पनि नभएकाले उक्त विद्यालयलाई समायोजन गरिने सम्भावना रहेको थिङले बताउनुभयो ।
त्यस्तै दरबन्दी मिलान र विद्यालय समायोजनका लागि गाउँपालिकाले वडा अध्यक्ष, शिक्षा शाखा अधिकृत र गाउँपालिकाको प्रमुखसहित ३ सदस्यीय कार्यदल गठन गरेको छ । अब उक्त समितिले गाउँपालिका अन्तर्गतका शिक्षक दरबन्दी रिक्त भएका, विद्यार्थी संख्या न्युन रहेका, भौगोलिक अवस्था विकट भएका र विद्यालय सञ्चालन गर्ने अवस्थामा नरहेका विद्यालयहरु कुन कुन छन् सोको अनुगमन गर्ने तयारीमा रहेको थिङले जानकारी दिनुभयो । हाल अनुगमनपछि तयार पारिएको प्रतिवेदनको शिक्षा शाखाले मूल्याङकन गरी कुन कुन विद्यालयलाई समायोजन गर्ने भन्ने विषयमा निर्णय गर्ने उहाँले बताउनुभयो ।
शिक्षक दरबन्दी र विद्यालय समायोजनको कार्य आउँदो भदौ महिनामा सम्पन्न हुनेछ । त्यस्तै गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षक तथा कर्मचारीहरुलाई यथाशिघ्र विद्यालयमा उपस्थित भई वैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाई सहजीकरण गर्न समेत निर्देशन दिएको छ । गाउँपालिकामा १–३ कक्षासम्म सञ्चालनमा रहेका १५ वटा, १–५ कक्षा सञ्चालनमा रहेका २४ वटा, १–८ कक्षा सञ्चालनमा रहेका ४ वटा र १–१० कक्षा सञ्चालनमा रहेका ६ वटा गरी जम्मा ४९ वटा विद्यालय छन् ।