क्याम्पस सभामा सहभागीहरु ।

हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसको ११ औं क्याम्पस सभा आज सोमबार भएको छ । क्याम्पस सञ्चालक समितिकी अध्यक्ष मुनु सिग्देलको अध्यक्षता तथा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यमा क्याम्पस सभा भएको हो । क्याम्पस सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री दुलालले प्रदेशमा रहेका अब्बल सामुदायिक क्याम्पसलाई विश्वविद्यालयको स्वरुपमा विकास गरिने बताउनुभएको छ । सामुदायिक क्याम्पसहरुले उच्च शिक्षामा दिएको भन्दै उहाँले सामुदायिक क्याम्पसको योगदानको प्रशंसा गर्नुभयो । प्रदेश सरकार “सामुदायिक क्याम्पसको सुदृढीकरण अभियान” मार्फत् सामुदायिक क्याम्पसको विकास योजना निर्माण गरी क्रमशः कार्यान्वयनको चरणमा रहेको उहाँले बताउनुभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् बाग्मती प्रदेश सभा सदस्य मुनु सिग्देलले क्याम्पसको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख देवचन्द्र मानन्धरले क्याम्पसको वर्तमान अवस्थाको जानकारी गराउनु हुँदै हालसम्म क्याम्पस विकासका निम्ति महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुहुने सम्पूर्ण महानुभावहरु प्रति धन्यवाद व्यक्त गर्नुभयो । सभाले कोषाध्यक्ष कमानसिंह पाख्रिनले प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्षको आयव्यय विवरण, छात्रवृत्ति उपसमितिका संयोजक प्रदीप कोइरालाले प्रस्तुत गर्नुभएको छात्रवृत्ति उपसमितिको प्रतिवेदन, सेवा समितिका संयोजक बद्रीनाथ शर्माले प्रस्तुत गर्नुभएको सेवा समितिको प्रतिवेदन, शैक्षिक गुणस्तर अभिवृद्धि उपसमितिका संयोजक पुरणबहादुर जोशीले प्रस्तुत गर्नुभएको शैक्षिक प्रतिवेदन तथा खरिद तथा निर्माण उपसमितिका संयोजक श्यामसुन्दर ढकालले प्रस्तुत गर्नुभएको खरिद तथा निर्माण उपसमितिको प्रतिवेदन छलफल सहित पास गरेको छ ।

क्याम्पस सभामा बाग्मती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल, नेपाली काङ्ग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णु लामिछाने, पब्लिक क्याम्पस प्राध्यापक संघ हेटौंडा क्याम्पस इकाईका अध्यक्ष भूपेन्द्र कोइराला, कर्मचारी संघका अध्यक्ष प्रकाश दाहाल, पूर्व विद्यार्थी समाज हेटौंडा क्याम्पसका अध्यक्ष बालकृष्ण चौलागाईं, स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पस समितिका अध्यक्ष उमेश पुरी, भूटनदेवी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गोविन्द दाहाल, युवा रेडक्रस सर्कल हेटौंडा क्याम्पस शाखाका सचिव दिपेश लामिछाने, विद्यार्थी सङ्गठनका प्रतिनिधिको आतिथ्य रहेको थियो ।