हेटौंडाः हेटौंडा अस्पतालमा उपचाररत हेटौंडा–१३ का मिसन क्षेत्री उपचारपछि निको भएर आइतबार घर फर्किएका छन् । मस्तिस्कमा पिप जमेर विरामी भएका मिसन २ महिनादेखि हेटौंडा अस्पतालमा उपचाररत थिए । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण हेटौंडा अस्पताल र विभिन्न व्यक्तिको सहयोगमा मिसनको उपचार सम्भव भएको हो ।
असार ९ गते हेटौंडाका युवा विकेशलाल श्रेष्ठको अगुवाईमा एक लाख १० हजार नौं सय रुपैयाँ मिसनको उपचारका लागि हस्तान्तरण गरिएको थियो भने सिविन बालहेल्पलाइनले २० हजार रुपैयाँ सहयोग गरेको थियो । उपचारका लागि अस्पताल बसाईको शूल्क हेटौंडा अस्पतालले पूर्ण छुट गरिदिएको हेटौंडा अस्पतालका बाल स्वास्थ्य चिकित्सक डा. हरिबहादुर खड्काले जानकारी दिनुभएको छ । यस्तै मिसनको उपचारका लागि आवश्यक सबै औषधी पनि अस्पतालले निशूल्क उपलब्ध गराएको हो ।
लायन्स, लियो लगायत विभिन्न संघ, संस्था र व्यक्तिले पनि मिसनको उपचारमा आर्थिक सहयोग गरेको थियो । निको भएर घर फर्किएका मिसनको आगामी छ साता सम्म चिकित्सकले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने डा. खड्काले बताउनुभएको छ । निको भएर घर जानुअघि मिसन क्षेत्री सँग परामर्श गर्नुहुैँदै डा. खड्का र हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल ।