हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले चाडपर्वलक्षित सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकको प्रतिवद्धता कार्यक्रम सुरु गरेको छ । बिहीबार हेटौंडा–१० स्थित बसपार्कमा आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले कार्यक्रमको सुरुवात गर्नुभएको हो ।
मन्त्री लामिछानेले उक्त कार्यक्रमले नजिकिँदै गरेको चाडपर्वमा हुनसक्ने दुर्घटना जोखिम न्यूनीकरणमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सवारी चालकहरुले सुरक्षित तरिकाले सवारी चलाएर यात्रुलाई पनि सुरक्षित बनाउनुपर्ने बताउनुभयो । उहाँले ५ बुँदे प्रतिबद्धता भएको स्टीकर वितरण गर्दै प्रतिबद्धता पूर्णरूपमा पालना गर्न आग्रह गर्नुभएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा मातहत १० जिल्लाहरूबाट एकैपटक चाडपर्वलक्षित सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकहरूसँगको प्रतिबद्धता कार्यक्रम गरिएको छ । सोही कार्यक्रममा बिहीबार बागमती प्रदेश प्रहरी कार्यालय मातहतका अन्य ९ जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारी, नगरप्रमुख र जिल्ला प्रहरी प्रमुखहरुबाट एकैपटक कार्यक्रम उद्घाटन गरी ७ सय ३८ जना सवारी चालकहरूलाई प्रतिबद्धता गराइएको छ ।
सवारी चालकहरुलाई हतारमा गाडी नचलाई दुर्घटनाबाट बचाउने, मद्यपान, धुमपान र लागूपदार्थ सेवन नगरी सवारी साधन चलाउने, गाडीको अवस्था चेकजाँच गरेरमात्र सडकमा निकाल्ने, ट्राफिक जरिवाना नपर्ने गरी यात्रा गर्नेजस्ता प्रतिबद्धता गराइएको हो ।
कार्यक्रमममा बागमती प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जन, आन्तरिक मामिला तथा कानुन सचिव पूर्णबहादुर दर्जी, मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्णहरि शर्मा र हेटौंडा–१० का वडाध्यक्ष फुर्वा दोर्जे लामालगायत यातायात व्यवसायीहरुको उपस्थिति रहेको थियो ।