FOTO BY GOOGLE

हेटौंडाः बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले संविधानले राज्यशक्ति र स्रोतको अधिकार जनतामा निहित गरेको बताउनु भएको छ । उहाँले संविधानले राष्ट्रिय सार्वभौमिकतालाई जनतामा निहित गर्दै समानुपातिक, समावेशी र सामाजिक न्यायको परिकल्पनासहित संघीय संरचनाको व्यवस्था गरेको बताउनुभयो ।

मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री लामिछानेले समाजवादको लक्ष्यसहित सुखी नेपाली समृद्ध नेपालको परिकल्पना संविधानमा नै गरिएको बताउनुभयो । नागरिकहरुको बलिदानबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्दै आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

व्याप्त विकृति, विसंगति र उत्पीडनको अन्त्य गर्दै संविधानको व्यवस्थाअनुसारको जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतालाई एक सूत्रमा बाँधेर अघि बढ्नुपर्ने मन्त्री लामिछानेले बताउनुभयो । उहाँका अनुसार विभिन्न चरणको जनआन्दोलन र विद्रोहबाट प्राप्त राजनीतिक उपलब्धीहरुलाई संस्थागत गर्न संविधानको पूर्ण कार्यान्वयन अपरिहार्य रहको छ ।

जनताको बलबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्न संविधान दिवस २०८१ लाई भव्यरुपमा मनाउन उहाँले अपिल गर्नुभयो । संविधान दिवसलाई थप भव्य बनाउन प्रदेश सरकारले पनि ४३ सदस्यीय समति गठन गरेर विभिन्न कार्यक्रमहरु अघि बढाएको मन्त्री लामिछानेको भनाइ छ ।

संविधान दिवसको अवसरमा असोज १ देखि ३ गतेसम्म निबन्ध लेखन, सरसफाई, प्रभातफेरी, खेलकुद प्रतियोगिता, वृक्षरोपण, कृतिम अंग वितरण तथा एसईईमा उत्कृष्ट अंक प्राप्त गर्ने सामुदायिक विद्यालयका छात्रछात्रालाई नगदसहित पुरस्कृत गर्ने कार्यक्रम रहेको मन्त्री लामिछानेले बताउनुभयो ।