बागमती प्रदेश सभा सचिवालय ।

हेटौंडाः बागमती प्रदेशसभाको बैठक यही ६ असोजका लागि आह्वान गरिएको छ । बैठक असोज ६ गते आइतबार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
गत १६ साउनमा विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेसँगै स्थगित भएको प्रदेशसभा बैठक डेढ महिनापछि बस्न लागेको हो । प्रदेशसभा बैठकमा प्रदेशसभाअन्तर्गतका विभिन्न संसदीय समितिहरूबाट पारित भएका विधेयकका प्रतिवेदनहरु प्रस्तुत हुने कार्यसूची रहने प्रदेशसभा सचिवालयले जनाएको छ ।

यद्यपि बैठकको कार्यसूची तय गर्न ५ असोजमा कार्यसम्पादन समितिको बैठक आह्वान गरिएको छ । शनिवार दिउँसो ३ बजे बस्ने बैठकले संसद्को कार्यसूची तय गर्ने प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो ।

प्रवक्ता गुप्ताका अनुसार ६ असोजमा बस्ने प्रदेशसभा बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिबाट पारित भएको दुई वटा र उद्योग, पर्यटन तथा वातावरण समितिबाट पारित भएको एउटा प्रतिवेदन संसदमा प्रस्तुत हुनेछ । प्रदेशसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा कृषि समितिबाट प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पेश हुनेछ ।

यस्तै, उद्योग, पर्यटन तथा वातावरण समितिले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पेश गरिनेछ ।
समितिहरुबाट दफाबार छलफल गरी संशोधनसहित पारित भएका विधेयकका प्रतिवेदनहरु प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको र तीनै विधेयकका प्रतिवेदनहरुमाथि सदनमा छलफल हुने सचिवालयले जनाएको छ ।