विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्नुहुँदै क्याम्पस प्रमुख डा. यमबहादुर सिलवाल ।

हेटौँडाः हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले कक्षा १२ मा अध्ययनरत एक सय १९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच छात्रवृत्ति प्रदान गरिएको क्याम्पसका प्राचार्य सन्देश बिडारीले जानकारी दिनुभयो ।

कक्षा १२ मा अध्ययनरत मानविकी, विज्ञान, शिक्षाशास्त्र र व्यवस्थापन संकायका एक सय १९ जना विद्यार्थीलाई ५० लाख रुपैयाँ बराबरको पूर्ण छात्रवृत्ति वितरण गरिएको प्राचार्य बिडारीले जानकारी दिनुभयो ।

मकवानपुर बहुमुखी क्याम्पसका प्राचार्य सन्देश बिडारीको सभाध्यक्षतामा र क्याम्पस प्रमुख डा. यम बहादुर सिलवालको प्रमुख आतिथ्यमा छात्रवृत्ति वितरण कार्यक्रम भएको हो । कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख संगम चौलागाई, उत्तम अर्याल, दिनेश बिडारी तथा विभिन्न संकायका संकाय प्रमुखहरूको पनि उपस्थिति रहेको थियो । मकवानपुर बहुमुखी क्याम्पसमा कक्षा १२ मा एक हजार दुई सय जना विद्यार्थी अध्ययनरत छन् ।