म्यान अफ द म्याच हटिया स्पोर्टस् एकेडेमीका साजन मोक्तानलाई ट्रफी हस्तान्तरण गरिँदै ।

हेटौँडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको न्यू डाँफे युथ क्लब र गोर्खा ब्वाइज क्लबबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ । हेटौँडा–६ स्थित गौरीटार रंगशालामा भएको पहिलो न्यू डाँफे र गोर्खा ब्वाइजको खेल बराबरीमा रोकिँदा दोस्रो खेलमा एफसी मल्टिभिजनलाई २–० गोलअन्तरले हराउँदै न्यू कम्बाइन विजयी भएको छ ।

पहिलो खेलमा डाँफेका सुशान्त तामाङले र गोर्खा ब्वाईजका मनोज घलानले गोल गरेका हुन् । म्यान अफ द म्याच गम्भीर थिङ घोषित भएका छन् । यस्तै सिमलटार खेलमैदानमा भएको पहिलो खेलमा सानोपोखरालाई १–० गोलअन्तरले हराउँदै हटिया स्पोर्टस् विजयी भएको छ । हटियाको जीतमा साजन मोक्तानले निर्णायक गोल गरेका हुन् । म्यान अफ द म्याच मोक्तान घोषित भएका छन् ।

यस्तै ७ नम्बर फुटबल क्लबलाई २–० गोलअन्तरले हराउँदै पदमपोखरी फुटबल क्लब विजयी भएको छ । पदमपोखरीको जीतमा सुमन थिङ र विवश थिङले समान एक–एक गोल गरे । म्यान अफ द म्याच रोजल थिङ घोषित भएका छन् । पिप्ले युवा क्लबले हेटौँडा फुटबल एकेडेमीलाई ५–१ गोलअन्तरले पराजित गरेको छ ।

प्रतियोगिताको फाइनल खेल असोज ९ गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।