सांकेतिक तस्वीर ।

हेटौँडाः बागमती प्रदेशको दुई जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन र दोलखामा ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका–१५, चौतारामा एक जना वृद्धको मृत्यु भएको छ । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

आइतबार चौतारीमा वृद्ध सामान्य पेट दुखेको पखाला लागेको अवस्थामा फेला परेको भनी स्थानीयबाट ईलाका प्रहरी कार्यालय फुलबारीमा जानकारी प्राप्त हुना साथ वृद्धलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको थियो । वृद्धको उपचारको क्रममा बेलुका ९ बजेर ५४ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–४, कोठेडाँडामा बोलेरो गाडी सडकबाट खस्दा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा गौरीशंकर गाउँपालिका–३ बस्ने ७५ वर्षीया काली शेर्पा र ६० वर्षीया पसी शेर्पा रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार जुगु झ्याकु भित्री कच्ची सडक खण्डमा सिंगटीबाट झ्याकुतर्फ जाँदै गरेको बा २० च ७२६६ नम्बरको बोलेरो गाडी सडकबाट २ सय मिटर तल खस्दा बोलेरोमा सवार ६ जना घाइते भएका थिए । घाइते काली र पसीको उपचारको क्रममा रोल्वालिङ सामुदायिक अस्पतालमा मृत्यु भएको थियो भने बाँकी घाइतेहरुलाई उपचारका लागि सामुदायिक अस्पताल सिंगटी लगिएको प्रहरीले जानकारी दिएको छ । शव पोष्टमार्टमका लागि पशुपती चौलागाई स्मृति अस्पताल चरिकोट लगिएको छ ।