शनिबार निर्णायकलाई खेलसामग्री हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरिँदै ।

हेटौँडाः हेटौँडा–८ कमानेमा जारी वडास्तरीय टि–२० क्रिकेट प्रतियोगितामा वडा नम्बर ८ को ए टिम विजयी भएको छ । सोमबार बिहान भएको खेलमा वडा नम्बर १८ लाई ४ विकेटले हराउँदै ‘ए’ टिम विजयी भएको हो ।

टस हारेर पहिला व्याटिङको निम्तो पाएको १८ नम्बर वडा ८१ रनमा अलआउट भएको थियो । वडा नम्बर ८ को ‘ए’ ले ६ विकेट गुमाएर ८५ रन बनाउँदै लक्ष्यलाई भेटायो । वडा नम्बर ८ को ‘ए’ का लागि सन्देश ढकालले २१ र निराज देवानले १८ रन बनाए । यस्तै १८ नम्बरका लागि निश्चल खतिवडाले सर्वाधिक ४२ रन बनाएका थिए । वडा नम्बर ८ को ‘ए’ का लागि स्पन्दन क्षेत्री, गौरव खड्का र सुजल भट्टराईले समान २–२ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत अहिले वडा नम्बर २ र ९ को ‘बी’ बीच प्रतिस्पर्धा भइरहेको छ । नेपाल खेलकुद महासंघ हेटौँडा–८ नम्बर वडा कमिटीको आयोजनामा जारी प्रतियोगिता असोज ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उद्घाटन शनिबार भएको थियो ।