हेटौँडाः मकवानपुरको भीमफेदी गाउँपालिकाबाट ७ जना बालश्रमिकहरुलाई उद्दार गरिएको छ । आइतबार भीमफेदी गाउँपालिकाको संयोजन, बागमती प्रदेशको श्रम तथा रोजगार कार्यालय, सिविन बालहेल्पलाइन र छोराछोरी नेपालको संयुक्त टोलीले ७ जना बालश्रमिकलाई उद्दार गरेको हो ।
उनीहरुलाई भीमफेदी गाउँपालिकाको वडा नम्बर ६ स्थित फरक–फरक होटलबाट उद्दार गरिएको बालहेल्पलाइन मकवानपुरका कार्यक्रम संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो । उद्दार हुनेहरुमा मनहरी–४ का एक जना १६ वर्षीय र दुई जना १५ वर्षीय बालक रहेका छन् । यस्तै, राक्सिराङ गाउँपालिकाका १४ वर्षीय बालक, कैलाश गाउँपालिका–७ की १४ वर्षीया बालिका र भीमफेदी–६ का १३ र १४ वर्षका बालक रहेका छन् ।
उद्दार गरिएका ७ जना बालश्रमिक बालहेल्पलाइनको संरक्षणमा रहेका छन् । श्रम कार्यालयले उक्त होटलहरुलाई ७ दिनभित्र कागजातसहित उपस्थित हुन भनेको छ भने कारबाही प्रक्रिया अगाडि बढाइने जनाएको छ । अनुगमनमा भीमफेदी–९ का वडाध्यक्ष प्रकाश पुडासैनी, महिला बालबालिका शाखाकी प्रमुख विमला बर्तौला, श्रम कार्यालयका प्रमुख छन्दनारायण श्रेष्ठ र छोराछोरी नेपालकी निर्देशक शैलजा सिएमलगायतको उपस्थिति रहेको थियो ।