साहित्यकार मुना अर्याल ।

हेटौँडाः ५१ हजार राशीको महालक्ष्मी साहित्य पुरस्कार यस वर्ष मकवानपुरे महाकाव्यकार मुना अर्याललाई प्रदान गरिने भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेडसँगको सहकार्यमा मातृभूमि साहित्य समाज मकवानपुरले प्रदान गर्दै आएको महालक्ष्मी साहित्य पुरस्कार, २०८० बाट अर्याल पुरस्कृत हुने आईतबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

आगामी असोज ५ गते शनिबार विशेष कार्यक्रमका बीच अर्याललाई नगद ५१ हजार रुपैयाँसहित एक्काइसौँ महालक्ष्मी साहित्य पुरस्कार प्रदान गर्न लागिएको हो । मातृभूमिले यो पुरस्कार हालसम्म २० जनालाई प्रदान गरिसकेको छ । यस्तै, मकवानपुर श्री सम्मान मकवानपुरका अग्रज शिक्षासेवी बद्रिनाथ शर्मा अर्याललाई प्रदान गर्ने निर्णय भएको मातृभूमि साहित्य समाजका अध्यक्ष कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो ।

यसैगरी केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०८० हेटौँडा सन्देश दैनिक पत्रिकाका सम्पादक माधव न्यौपानेलाई प्रदान गरिने भएको छ । दश हजार रुपैयाँ राशीको उक्त पुरस्कार समाजसेवी ईश्वर मैनालीले आफ्ना पिताको सम्झनामा स्थापना गर्नुभएको हो । २०५६ सालमा स्थापना भएको मातृभूमि साहित्य समाजले २०५९ सालदेखि नेपाली भाषा, साहित्यका क्षेत्रमा योगदान पु¥याउने साहित्यसेवीलाई प्रत्येक वर्ष पुरस्कृत गर्दै आएको छ ।