देशभर डेंगु संक्रमण बढ्दै गएको छ । वर्षा भइरहेका कारण डेंगु संक्रमण बढ्दै गएको हो । दिनानुदिन डेंगु संक्रमितको संख्या उल्लेख्य देखिएसँगै डेंगुको महामारी फैलन सक्ने सम्भावना बढेको छ । मकवानपुर जिल्लामा पनि डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । डेंगु संक्रमणको आशंकामा परीक्षण गराउनेको उंख्या पनि उल्लेख्य छ । ज्वरो आएर अस्पतालमा पुग्नेहरु सबैजसोले डेंगु संक्रमण परीक्षण गर्ने गरेका छन् । विगतका वर्षमा पनि देशका केही शहरमा डेंगु संक्रमणले महामारीको रुप लिएको थियो । यस वर्ष पनि प्रशस्त वर्षा भइरहेका कारण डेंगु संक्रमणले महामारीको रुप लिने जोखिम कायमै छ । डेंगुले महामारीको रुप लिन नदिन नियन्त्रणका उपायसँगै सचेतना जगाउनु आवश्यक भएको छ । लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग डेंगु नियन्त्रणका लागि सरकारी प्रयत्न खासै देखिएको छैन ।
मकवानपुरमा शुक्रबार १० जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । यस्तै, बिहीबार २४ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो भने मंगलबार २४ जनामा डेंगु पुष्टि भएको थियो । चालु आर्थिक वर्षको साउन महिनायता जिल्लामा ३ सय ८० जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । डेंगु पुष्टि हुनेमा एक सय ९० जना पुरुष र एक सय ९० जना महिला छन् । मकवानपुरमा सबैभन्दा बढी डेंगु संक्रमित हेटौंडा उपमहानगरपालिकाका छन् । सन् २०२४ को जनवरीयता देशभर ८ हजारभन्दा धेरै मानिसमा डेंगु संक्रमण देखिएको छ । सेप्टेम्बर महिनाको ११ दिनमा एक हजार ३३१ जनामा सङ्क्रमण पाइएको छ भने गत अगस्टमा ४ हजार २२६ जनामा डेंगु संक्रमण भएको थियो । डेंगु सङ्क्रमणका कारण ५ जनाको मृत्यु भइसकेको छ । सन् २०२२ मा देशभर ५४ हजार ७८४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ । सन् २०२३ मा डेंगु सङ्क्रमण हुनेको सङ्ख्या ५१ हजार २४३ जना थियो भने २० जनाको मृत्यु भएको थियो । विगतको तुलनामा यस वर्ष संक्रमितको संख्या कम रहे पनि निरन्तर वर्षा भइरहेका कारण संक्रमणको जोखिम उत्तिकै रहेको मान्न सकिन्छ ।
एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले डेंगु संक्रमण फैलाउने गर्दछ । डेंगुको भाइरसद्वारा संक्रमित भएको लामखुट्टेले टोक्दा यो रोग सर्दछ । प्रायः सफा पानीमा बस्ने र प्रजनन गर्ने यो लामखुट्टेबाट बच्ने प्रमुख उपाय यसको लार्भा नियन्त्रण नै हो । पानी जम्न नदिएर लामखुट्टेको बासस्थान नै नष्ट गर्नु डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय मानिन्छ । गत वर्षहरुमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गरौँ’ भन्ने अभियान नै चलाइएको भए पनि यस वर्ष अभियान चलाइएको छैन । संघीय सरकारले प्रदेश र स्थानीय तहमा ‘खोज र नष्ट गरौँ’ अभियानका लागि बजेट पठाएको भए पनि अभियान सञ्चालन हुन सकेको छैन । डेंगु संक्रमितको संख्या बढी भएको र संक्रमणको जोखिममा रहेका स्थानीय तहहरुले यसको नियन्त्रणमा विशेष चासो दिनु आवश्यक छ । जति सकिन्छ छिटो लामखुट्टे नियन्त्रणमा नलागेसम्म डेंगु सङ्क्रमण नियन्त्रण गर्न सकिँदैन । लामखुट्टेको संख्या जति बढ्छ, डेंगु संक्रमितको संख्या पनि त्यत्तिकै बढ्ने सम्भावना रहन्छ ।
करिब दुई दशक अघिदेखि नेपालमा देखिएको डेंगु पछिल्ला वर्षहरुमा निकै व्यापक बनिरहेको छ । सुरुवातका वर्षहरुमा तराई मधेशमा सिमित रहेको डेंगु अहिले देशका सबै जिल्लामा पुगिसेकेको छ । डेंगु संक्रमण भएमा एक्कासी ज्वरो आउने, टाउको, ढाड, जोर्नी दुख्ने, शरीरमा बिमिरा आउने, रक्तचाप घट्ने, नाक, कान, गिजा, गुद्द्वारबाट रगत आउने जस्ता लक्षणहरु देखा पर्छन् । यो रोगविरुद्ध खोप तथा कुनै उपचारसमेत नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने मुख्य उपाय हो । यो रोगबाट बच्नको लागि घर वरिपरि सरसफाइ गर्ने, पानी जम्न नदिने, सुत्दा झुलको प्रयोग गर्ने, पूरा बाउला भएको लुगा लगाउने, घरका झ्याल एवम् ढोकामा जाली लगाउने गर्नु उचित हुनेछ । डेंगु संक्रमणबाट बच्न सर्वसाधारणलाई सचेतना वृद्धि गर्दै लामखुट्टे नष्ट गर्ने कार्यमा जुट्नुपर्छ ।