हेटौँडाः मकवानपुरबाट काठमाडौं जोड्ने छोटो दुरीको कान्तिलोकपथ सडकखण्डमा बाटो माथिबाट ढुङ्गा खस्दा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ९ बजेर ३० मिनेटको समयमा भीमफेदी–८, च्यासुर खोलास्थित उक्त सडकखण्डमा माथि भीरबाट ढुङ्गा खस्दा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६५ प ४२६३ नम्बरको मोटरसाइकललाई ढुङ्गा खसेर लाग्दा मोटरसाइकल चालक बारा जिल्लाको कलैया उपमहानगरपालिका–८ का ४२ वर्षीय मन्सुर मियाँ अन्सारी र सोही ठाउँका ३२ वर्षीय नरेन्द्र माली घाइते भएका छन् । चालक अन्सारीको ढाड, दाहिने खुट्टामा चोट लागेको र मालीको दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरु सवार मोटरसाइकल सडकबाट ३० फिट तल भीरमा अड्किएको थियो । घटनास्थलमा इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी टोेली खटिएर घाइते दुवै जनालाई उद्दार गरी उपचारका लागि ठिंगन स्वास्थ्य चौकीमा पठाइएको जनाएको छ ।