महावीर पुन नेपालीका लागि परिचित नाम हो । विसं २०११ सालमा म्याग्दी जिल्लाको नागी गाउँमा जन्मिभएका पुनले कक्षा ७ सम्मको शिक्षा त्यहीँ लिए । त्यसपछिका शिक्षाका लागि उनका बुवाले चितवनमा ल्याए, जहाँ उनले कक्षा १२ सम्म पढे । आर्थिक अवस्था कमजोर भएका कारण उनले स्नातक पढेनन् र १३ वर्षसम्म विभिन्न विद्यालयमा पढाए । उच्चशिक्षाका लागि विदेशी विश्वविद्यालयमा आवेदन दिएका पुनले अमेरिकाको एक विश्वविद्यालयमा आंशिक छात्रवृत्तिसहित पढ्ने अवसर पाए । विज्ञान विषयमा स्नातकोत्तरसम्म अध्ययन गरी आजभन्दा करिब ३० वर्षअघि पुन नेपाल फर्किए र आफू जन्मेको गाउँमा आर्थिक उपार्जनसहित पर्यटन प्रवद्र्धनमा लागे । उनले वायरलेस प्रविधिमार्फत् गाउँ–घर र विद्यालयमा इन्टरनेट सुविधा विस्तारमा उल्लेख्य योगदान दिएसँगै वैज्ञानिकको रुपमा चिनिए । पुनले एसियाकै नोबेल पुरस्कार मानिने म्यागसेसे पुरस्कार पाएपछि उनको पहिचान र चर्चा दुबै चुलियो ।
केही वर्ष अघिदेखि त्रिभुवन विश्वविद्यालय परिसरमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका पुन अहिले देशभित्रै वैज्ञानिक गतिविधि बढाउन क्रियाशील छन् । ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेको केन्द्रले धेरै प्रविधि विकास गरिसकेको भए पनि पर्याप्त आर्थिक स्रोतको अभावमा देखिने काम गर्न सकेको छैन । यसैबीच महावीर पुन अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्रले सरकारसँग २ दशकदेखि बन्द रहेको वीरगञ्जको कृषि औजार कारखाना लिमिटेड सञ्चालनको अनुमति लियो । कारखाना र आविष्कार केन्द्र चलाउन आर्थिक स्रोत नभएपछि पुनले २०८० वैशाखमा सरकारसँग बजेट माग गर्दै आन्दोलनसमेत गरे । अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धी कामलाई एकीकृतरुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्ने सहमति पुनसँग ग¥यो । त्यतिमात्र होइन, कोषमा सरकारले पुँजीगत बजेटको एक प्रतिशत रकम जम्मा गर्ने, ६० दिनभित्र कोष व्यवस्थापन र सञ्चालनका लागि विधेयक तयार गरी संघीय संसदमा पेश गरेर पारित गर्ने सहमति गरेको थियो । सरकारले उक्त सहमति कार्यान्वयन नगरेपछि पुनले आफ्नो जीवनीबारे पुस्तक छापेर बेच्दै हिँडिरहेका छन् ।
७ महिनाअघि सुदूरपश्चिमबाट पुस्तक बिक्री गर्न देश दौडाहमा निस्किएका पुन गत साउन अन्तिम साता हेटौंडा आइपुगेका थिए । पुस्तक बेचेर प्राप्त आम्दानीले कृषि औजार कारखानालाई पूर्ण क्षमतामा सञ्चालन गर्ने भन्दै हिँडेका उनले हालसम्म एक लाख ४० हजारभन्दा बढी पुस्तक बिक्री गरिसकेका छन् । बिक्री मूल्य ७ सय ५० रुपैयाँ रहेको उनको पुस्तक बिक्रीबाट हालसम्म १० करोड रुपैयाँभन्दा बढी संकलन भएको छ । मकवानपुरको मनहरीबाट हेटौंडा हुँदै भीमफेदीसम्म पुगेर करिब २ सातामा उनले ७ हजारभन्दा बढी पुस्तक बिक्री गरेका छन् । मकवानपुरबाट मात्र पुनले पुस्तक बिक्रीबापत ५० लाख रुपैयाँभन्दा बढी संकलन गरेका छन् । आविष्कार केन्द्रले आफ्नो स्रोत साधनबाट कृषि औजार कारखानाका ८० प्रतिशत मेसिनहरु चलाउन मिल्ने बनाएर कृषकका लागि आवश्यक साना औजारहरु बनाए पनि थप मेसिन र कच्चापदार्थ खरिदका लागि सरकारले सहयोग नदिएको झोकमा आफूले पाएका मेडल र सम्मान नै लिलाम बिक्री गर्ने घोषणासमेत उनले गरेका थिए ।
महावीर पुनले पुस्तक बिक्री गरेरै कारखाना चलाउने दृढ इच्छाले सार्थकता पाउँदै गएको छ । आम नागरिकको साथ र सहयोगले कृषि औजार कारखाना चलाउन करिब १० करोड रुपैयाँ जुटाउने महावीरको योजनाले केही महिनाभित्रै पूर्णता पाउने निश्चित छ । कृषिप्रधान देशको कृषि औजार उत्पादन गर्ने एउटामात्र कारखानासमेत २ दशकसम्म बन्द राख्ने सरकारलाई पुनको यो अभियान र नेपाली नागरिकको सहयोगले दवाव सृजना हुनसक्छ । देश–विदेशमा परिचित वैज्ञानिकले गैरनाफामूलक आविष्कार केन्द्रमार्फत् बन्द कारखाना सञ्चालन गर्न खोज्दा ८–१० करोड रुपैयाँसमेत पत्याउन नसक्ने सरकारलाई महावीर पुनको यो कामले अवश्य गिज्याउने छ ।