हेटौंडाः हेटौंडामा जारी दशौं संस्करणको हेटौंडा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा फ्रिडम फाइटर भेट्रान्स काठमाडौं र किङ्कम भेट्रान्स प्रवेश गरेको छ । सोमबार हुने फाइनलमा फ्रिडम फाइटर र किङ्कम भेट्रान्सबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
आइतबार हेटौंडा–४, हुप्रचौरमा भएको पहिलो सेमिफाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्सले बानेश्वर फ्रेण्डसीप भेट्रान्सलाई १–० गोलले पराजित गरेको छ । दोस्रो सेमिफाइनल खेलमा आयोजक हेटौंडा भेट्रान्सलाई ५–३ गोलले किङ्कम भेट्रान्सले पराजित गरेको हो । फ्रिडम फाइटरको जीतमा पहिलो हाफको ६ मिनेटमा कृष्ण मालाकारले निर्णायक गोल गरेका थिए । बानेश्वर भेट्रान्सको तर्फबाट कुनै पनि खेलाडीले गोल फर्काउन नसेका कारण हार व्यहोर्नुपरेको हो ।
दोस्रो खेलमा किङ्कम भेट्रान्सको तर्फबाट पहिलो हाफको ७ मिनेटमा गोल गर्दै सरोज थापाले अग्रता दिलाएका थिए । पहिलो हाफकै १२ मिनेटमा किशोर नेपालीले गोल गर्दै आफ्नो टिमको अग्रतालाई बढाएका थिए । दोस्रो हाफको खेल चलिरहँदा २–० गोलले पछि परेको आयोजक हेटौंडा भेट्रान्सविरुद्ध ४ मिनेटमा निरज सिंह बस्नेतले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए ।
दोस्रो हाफको खेलसम्म ३–० गोलको दवाबले पछि परेको हेटौंडा भेट्रान्सले ६ मिनेटमा गोल गर्दै गोलअन्तर केही घटाउन सफल भयो । हेटौंडा भेट्रान्सका दीपक लामाले १२ मिनेटमा गोल गर्दै ३–२ गोलको स्थितिमा पु¥याए । १६ मिनेटमा थप एक गोल गर्दै लामाले खेललाई ३–३ गोलको बराबरीमा पु¥याएका थिए ।
३–३ गोलको बराबरीपछि खेलको १८ मिनेटमा फ्रिडम फाइटरले एक गोल थप गर्दै टिमलाई अग्रता दिलायो । खेलको १९ औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गर्दै किशोर नेपालीले ५–३ गोल अन्तरको स्थितिमा पु¥याएर टिमलाई जीत दिलाउन सफल भएका थिए । खेलको म्यान अफ द म्याच ३ गोलकर्ता नेपाली घोषित भएका छन् ।
दिउँसो २ बजेबाट सुरु हुने फाइनल खेलमा उपाधिका लागि फ्रिडम फाइटर भेट्रान्स काठमाडौँ र किङ्कम भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ । शनिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा बानेश्वरले एबीसी भेट्रान्सलाई टाइब्रेकरमा ३–२ गोलले हराएको थियो भने दोस्रो क्वार्टरफाइनल खेलमा काठमाडौंको किङ्कम भेट्रान्सले बगरभाइ खलक भेट्रान्सलाई ३–० गोलले पराजित गरेको थियो । यस्तै, तेस्रो खेलमा फ्रिडम फाइटर भेट्रान्सले हेटौंडाको नागस्वती भेट्रान्सलाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । हेटौंडा भेट्रान्स र बौद्धस् भेट्रान्सबिच भएको चौथो कार्टरफाइनल खेल १–१ गोलको बराबरीमा रोकिएको थियो । आइतबार बिहान ट्राइबेकरबाट निर्णय लिने क्रममा हेटौंडा भेट्रान्सले बौद्ध भेट्रान्सलाई टाइब्रेकरमा पराजित गरेको थियो ।
प्रतियोगितामा देशका विभिन्न स्थानका १५ वटा भेट्रान्स क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख ५० हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टिमले ७५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको म्यान अफ द सिरिजले १० हजार रुपैयाँ, सर्वोत्कृष्ट प्रशिक्षक, सर्वोत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स र उत्कृष्ट मिडफिल्डरले जनही ५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।