हेटौंडाः भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । हिन्दु नेपाली महिलाहरुले भगवान शिवको पूरा आराधनासहित ब्रत बसेर यो पर्व मनाउँदैछन् ।
तीजलाई नेपाली हिन्दू महिलाहरुको विषेश पर्व मानिन्छ । भाद्र शुक्ल द्वितीयाको दिन दर खाएर सुरु हुने तीज पर्व ४ दिनसम्म मनाइन्छ । तीजमा व्रत बस्न सहज होस् भन्ने उद्देश्यले अघिल्लो दिन दर खाने परम्परा रहेको छ । भाद्र शुक्ल तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज पर्व समापन गरिन्छ ।
तीजको मुख्य दिन हरितालिकाको दिन आज शुक्रबार निराहार व्रत बसी महादेवको पूजा आराधना गरिँदैछ । ब्रतालु तथा अन्य महिलाहरु महादेवको मन्दिरमा गई पूजा तथा दर्शन गर्दछन् । महिलाहरु समूहमा भेला भई तीज गीत गाएर नाचगान गरी खुशियाली मनाउँछन् ।
परापूर्व कालमा हिमालय पुत्री पार्वतीले यसै दिन निराहार व्रत बसी महादेव पति पाउने वरदान पाएकीले हरितालिकाको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । महादेवलाई पतिको रुपमा प्राप्त गर्ने पार्वतीको इच्छाविपरीत उनको विवाह भगवान विष्णुसँग गरिदिन खोजेपछि सखीहरुको सल्लाहमा उनलाई लुकाएर राखेको धर्मशास्त्रमा उल्लेख गरिएको छ । सखीहरुले लुकाएकै ठाउँमा पार्वतीले व्रत बसी भाद्र शुक्ल तृतीयाको दिन महादेवलाई प्राप्त गरेको र त्यही समयदेखि हरितालिका तीजमा व्रत बस्ने प्रचलन सुरु भएको धार्मिक विश्वास छ ।
तीजको दिनमा निराहार व्रत बसेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ । तर, निराहार व्रत नै बस्नुपर्छ भन्ने कतै उल्लेख नरहेको धर्मशास्त्रविद्हरुको भनाइ छ । निराहार, जलाहार र फलाहार गरी तीन प्रकारका व्रत हुने भएकाले निराहार बस्न नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्न सकिने धर्मशास्त्रका जानकारहरु बताउँछन् । आत्माको रक्षा गरेरमात्र व्रत गर्नु भन्ने धर्मशास्त्रीय मान्यता रहेको उनीहरुको भनाइ छ ।
शास्त्रीयरूपमा महिला, पुरुष दुबैले हरितालिका तीजको व्रत बस्न सकिने भए पनि तीजमा अधिकांश महिलाहरुमात्र व्रत बस्ने गरेका छन् । व्रत बस्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय मान्यता रहेको पाइन्छ ।
हरितालिका तीजको दिन काठमाडौंको पशुपतिनाथसहित देशभरका शिव मन्दिरहरुमा श्रद्धालुको भिड लाग्ने गर्दछ । तीजको अवसरमा भाद्र शुक्ल तृतीयाका दिन महिलालाई सार्वजनिक विदा दिने गरिएको छ ।