सांकेतिक तस्वीर ।

हेटौँडाः मकवानपुरको बकैया गाउँपालिका–६ स्थित कैलेनी खोलाले बगाएर बेपत्ता भएकी महिला मृत भेटिएकी छिन् । आइतबार बकैया–६ स्थित जस्पलकी ४२ वर्षीय नानीमाया तितुङ खोलाले बगाएर बेपत्ता भएकी थिइन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीकाअनुसार नानीमाया सोमबार दिउँसो २ बजेर २० मिनेटको समयमा बारा जिल्लाको कोल्बी नगरपालिका–२ स्थित बकैया खोलाको किनारमा मृत भेटिएकी हुन् ।

आइतबार दिउँसो १२ बजेको समयमा तितुङ बाराको निजगढ नगरपालिका–१०, लालस्थित रहेको आफ्नै पसलबाट घर फर्कने क्रममा कैलेनी खोलाले बगाएको थियो । खोला तर्ने क्रममा एक्कासी पानीको बहाव बढेर बाढी आउँदा तितुङ बगाएर बेपत्ता भएको भनी स्थानीयले इलाका प्रहरी कार्यालय निजगढमा खबर गरेका थिए ।