हेटौंडाः हेटौंडा अस्पतालको डायलासिस विभागबाट ७१ जना मिर्गौलाका बिरामीहरुले सेवा प्राप्त गरिरहेका छन् । अस्पतालले २६ जना महिला र ४५ जना पुरुषलाई डायलासिस सेवा नियमित रुपमा प्रदान गरिरहेको डायलासिस विभागकी इन्चार्ज सीमा कँडेलले जानकारी दिनुभयो ।

हाल अस्पतालको डायलासिस विभागबाट सेवा प्राप्त गर्नका लागि ८४ जना मिर्गौला बिरामी प्रतीक्षा गरिरहेका छन् । अस्पतालले विभागमा सिमित मेसिन र क्षमता भएका कारण सबै बिरामीलाई सेवा दिन सकेको छैन । अस्पतालमा अहिले १९ वटा मेसिनमध्ये १३ वटा मेसिन सञ्चालनमा रहेको कँडेलले बताउनुभयो । हेटौंडा अस्पतालले डायलासिस सेवा स्वास्थ्य बिमाबाट बन्द गरेको छ । स्वास्थ्य बिमा बोर्डको सूचनाअनुसार विपन्न नागरिक कार्यक्रम लागू भएका स्वास्थ्य संस्थाहरुको डायलासिस सेवा स्वास्थ्य बिमाबाट दावी नहुने भएकाले हेटौंडा अस्पतालले बिमाबाट डायलासिस सेवा बन्द गरेको हो ।

मिर्गौलाका बिरामीहरुले अस्पतालबाट हप्तामा दुई पटक डायलासिस सेवा प्राप्त गरिरहेका छन् । अस्पतालले बिरामीलाई बिहान र दिउँसो गरी दुई सिप्mटमा सेवा दिने गरेको कँडेलले बताउनुभयो । कँडेलका अनुसार विभागले साउन महिनामा ६ सय ६७ पटक बिरामीलाई डायलासिस गराएको थियो । जसमा ३० वटा एमर्जेन्सीका बिरामी रहेको उहाँको भनाइ छ । अहिले मकवानपुरबाहेक बारा जिल्लाका ४ जना, पर्साका एक जना , सिरहाका एक जना र रसुवाका एक जनाले सेवा लिइरहेका छन् । डायलासिस विभागमा अहिले एक जना मिर्गौलाका डाक्टर (नेफ्रोलोजिस्ट) दिनेश्वरी श्रेष्ठले सेवा प्रदान गरिरहनु भएको छ । डा. श्रेष्ठ एक हप्ताअघि विभागमा आउनु भएको थियो । डाक्टर आउनु भएपश्चात् बिरामीले पाउने सेवामा सहज भएको कँडेलले बताउनुभयो ।

डा. श्रेष्ठले विभागमा पूर्ण समय दिनु भएको उहाँको भनाइ छ । डायलासिस विभागमा हेटौंडा उपमहानगरपालिकाले आवश्यकताअनुसार स्टाफ पठाएको छ । विभागमा आइतबार डायलासिस गरेका मिर्गौला बिरामीहरुको बुधबार पुनः पालो आउँछ । यस्तै, सोमबार डायलासिस गरेका बिरामीहरुको बिहीबार र मंगलबार डायलासिस गरेका बिरामीहरुको शुक्रबार पालो राखिएको कँडेलले बताउनुभयो । कँडेलका अनुसार एक बिरामीलाई डायलासिस गर्न ४ घण्टा लाग्छ भने बिरामीलाई २ जना स्टाफ नर्सले हेर्नुपर्ने हुन्छ । डायलासिस गराइरहेका बिरामीको अवस्था सामान्य रहेको कँडेलले बताउनुभयो ।