हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले शिक्षक बैंकको रोष्टर तयार पार्न लिइएको लिखित परीक्षाअन्तर्गत बालविकास सहजकर्तातर्फ विषयगत र वस्तुगत दुबै तथा प्राथमिक तह, निम्न माध्यमिक तह र माध्यमिक तहको वस्तुगत तर्फको पहिलो चरणको नतिजा प्रकाशन गरेको छ ।

उपमहानगरले सोमबार एक सूचना जारी गर्दै बालविकास सहजकर्तातर्फ २४ जना, प्राथमिक तहतर्फ ६५ जना, निम्न माध्यमिक तहतर्फ ३४ जना र माध्यमिक तहतर्फ १३ जना उत्तीर्ण भएको जनाएको छ । उपमहानगरले गत साउन २६ गते लिएको परीक्षाको परीक्षाफल, शिक्षक बैंक परीक्षा व्यवस्थापन समितिको निर्णयानुसार प्रकाशन गरेको जनाएको छ ।

उपमहानगरले विद्यालयहरुमा लामो अवधिका लागि शिक्षक रिक्त हुने अवस्था भएमा करार नियुक्तिका लागि शिक्षक बैंक तथा विद्यालय कर्मचारी व्यवस्थापन कार्यविधी–२०८१ जारी गरेर परीक्षा सञ्चालन गरेको हो ।