हेटौंडाः हेटौंडा अस्पतालको कर्मचारी नियुक्तिको विषय आज बुधबारसम्म टुङ्गिने भएको छ । मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो कार्यकक्षामा उक्त निर्णय माग गर्न आइपुगेका परीक्षार्थी र नेपाल तरुण दल हेटौंडा नगर समितिलाई यस्तो आश्वासन दिनुभएको हो । मुख्यमन्त्री लामाले छलफलमा अस्पतालको कर्मचारी नियुक्तिबारे गत आइतबार नै टुङ्ग्याउने तयारी गरे पनि बुधबारमात्र टुङ्गो लगाउने बताउनुभयो । सोमबार सार्वजनिक बिदा परेका कारण निर्णय नभएको र मंगलबार नै पूर्ण कागजपत्र हेरेर छलफल गरी आज बुधबारसम्म कर्मचारी नियुक्तिबारे निर्णय हुने उहाँले बताउनुभयो ।
साउन १ गतेदेखि १५ गतेसम्म हेटौंडा अस्तपालले १ सय ४३ जना करार कर्मचारीका लागि आवेदन खुला गरेको थियो । जसमा आवेदन दिएर अन्तर्वार्ता समेतबाट छनौट भएकाहरुले अझै पनि नियुक्तिपत्र प्राप्त नभएको भन्दै मुख्यमन्त्रीसँग नियुक्तिको माग गर्दै ध्यानाकर्षण गराएका हुन् । हेटौंडा अस्पतालले सञ्चालन गरेको अन्तर्वार्ताको छानबिन बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले गरेको थियो । गठित छानबिन समितिले अन्तर्वार्ताको छानविनको प्रतिवेद अझै प्रदान गरेको छैन । ८ दिनपछि पनि नियुक्तिको निर्णय नआएपछि परीक्षार्थीहरुले मंगलबार मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएका थिए । परीक्षार्थीहरुले अन्याय नसहने भन्दै न्यायका लागि धर्ना सञ्चालन गरेका थिए ।
कर्मचारी नियुक्तिको निर्णय नभएपछि धेरै जना परीक्षार्थी अलपत्र परेका छन् । हेटौंडा अस्पतालले भदौ ५ गतेसम्म नियुक्तिपत्र दिने भनेपछि कालिकोटकी कृष्णा बनले काठमाडौंको एक अस्पतालमा ३ गते राजीनामा दिनुभएको थियो । उहाँ भदौ ५ गतेदेखि हेटौंडामा नियुक्तिको पर्खाइमा बसिरहनु भएको छ । पहिले काम गरेको अस्पतालले दिएको इमर्जेन्सी तलब नलिई हेटौंडा आएको बनले बताउनुभएको छ ।
बनजस्तै धेरै जना परीक्षार्थीले अस्पतालले सार्वजनिक गरेको नामावलीपछि पहिले काम गरेको अस्पतालमा राजीनामा दिई आएका छन् । हेटौंडा अस्पतालले १ सय ४३ जना करार कर्मचारी नियुक्तिको लागि आवेदन खुला गरेको थियो । हेटौंडा अस्पतालमा पहिलैदेखि काम गरिरहेका करार कर्मचारीहरु पुरानो थप भएको समयसीमा सम्म काम गरिरहेका छन् भने नयाँ छनोट भएका अलपत्र परेका छन् । मंगलबार मुख्यमन्त्री कार्यालयमा नेपाल तरुण दल हेटौंडा नगर समितिका अध्यक्ष सुदिप गिरी र नेपाली कांग्रेस हेटौंडा नगर समितिका अध्यक्ष उत्सव इटेनीले संयोजन गर्नु भएको थियो । आज बुधबार पनि कार्मचारी नियुक्तिको निर्णय नभए कार्यालयमा तालाबन्दी गर्ने इटेनीले बताउनुभयो ।