सांकेतिक तस्वीर ।

हेटौंडाः रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेकखर्कमा पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ । शनिबार रातिको अविरल बर्षासँगै आएको पहिरोले घर बगाउँदा ६ जनाको मृत्यु भएको हो ।

पहिरोले पुरिएको अवस्थामा घटनास्थलबाट शव निकालिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । हालसम्म ३० वर्षीय चण्डिका श्रेष्ठ, सोही ठाउँका १८ महिने बालक आमुस श्रेष्ठ, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, १४ वर्षीय विज्ञान पहरी र ११ वर्षीय सन्तोष पहरीको शव पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा अझै चार जना वेपत्ता रहेका छन् ।

नेपाली सेना, प्रहरी, स्थानीय उद्दार र खोजी कार्यमा जुटिरहेका छन् । पहिरोमा फड्की पहरी, काले पहरी, झ्याउकिरी पहरी र बिन्दा पहरी बेपत्ता रहेको जनाइएको छ । पहिरोमा परेर घाइते अवस्थामा ११ वर्षीया अञ्जना पहरीको भने उद्दार गरिएको छ । उनलाई कम्मरभन्दा मुनिको भाग नचल्ने अवस्थामा उद्दार गरिएको प्रहरीले जनाएको छ ।