हेटौँडाः हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्रका सामुदायिक माविस्तरीय विद्यालयहरुबीच भएको हाजिरीजवाफ प्रतियोगितामा हेटौँडा–१८ स्थित ज्योति मावि प्रथम भएको छ । शुक्रबार हेटौँडा–१६ स्थित जनप्रिय माविमा नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौँडाले आयोजना गरेको प्रतियोगितामा ज्योति मावि प्रथम भएको हो ।
प्रतियोगितामा हेटौँडा–१७ स्थित बालबोध मावि द्वितीय र हेटौँडा–१६ स्थित जनप्रिय मावि तृतीय भएको छ । प्रथम हुने ज्योति माविको समुहमा सलिना सुवेदी, प्रशान्त गोले र समिप घिमिरे थिए । यस्तै द्वितीय हुने बालबोधको समुहमा श्रृष्टि भुजेल, स्मृति तिमल्सिना र सक्रिना पुडासैनी थिए भने तृतीय हुने जनप्रियको समुहमा एरिना चौलागाई, कौस्तुभ सुवेदी र रामकृष्ण आचार्य रहेका थिए । प्रथम, द्वितीय र तृतीय हुने समुहलाई क्रमशः ७ हजार रुपैयाँ, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौँडाका अध्यक्ष भोगेन्द्र लुइटेलका अनुसार प्रतियोगितामा नगरभित्रका २८ वटा सामुदायिक माविमध्ये २१ वटाको सहभागिता रहेको थियो । समितिले केही समयभित्र शिक्षक र विद्यार्थी खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो ।
हेटौँडा उपमहानगरपालिकाको सामाजिक विकास समितिका संयोजक एवम् हेटौंडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा प्रमुख सीताराम कोइराला, जनप्रिय मावि व्यवस्थापन समितिका अध्यक्ष मोहन बास्ताकोटी र प्रधानाध्यापक भुपेन्द्र चौलागाईं लगायतको आतिथ्य रहेको थियो ।