हेटौँडाः हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१० बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । शनिबार एक समारोहका बीच सोलिड्यारिटी माध्यमिक विद्यालयको सभाहलमा छैठौं वडाको रुपमा वडा नम्बर–१० लाई बालमैत्री शासनयुक्त वडा घोषणा गरिएको हो ।
हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले घोषणापत्र पढ्नु हुँदै र हस्ताक्षर गरेर वडालाई निकृष्ट बालश्रममुक्त र बालविवाहमुक्त बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुभएको हो । वडालाई बालमैत्री घोषणा गर्नका लागि आवश्यक ५१ वटा सूचकहरुमध्ये ४९ सूचकहरु शत्प्रतिशत, एउट सूचक ९५ प्रतिशत र एउटा सूचक ८१ प्रतिशत पूरा गरेको वडा अध्यक्ष फुर्वा दोर्जे लामाले बताउनुभयो ।
२०७९ सालको घरधुरी तथ्याङ्कअनुसार वडामा १८ वर्षभन्दा कम उमेर समूहका बालबालिकाको जनसंख्या एक हजार आठ सय ९५ रहेको छ । जसमा नौं सय ९३ बालक र आठ सय ९९ बालिका रहेकोमा ५२ दशमलव ६ प्रतिशत बालक र ४७ दशमलव ४ प्रतिशत बालिका वडामा रहेको वडा अध्यक्ष लामाले बताउनुभयो ।
वडामा रहेका १० वटा बाल समूह र एउटा बाल सञ्जालमा करिब दुई सय ५० जना बालबालिका र विभिन्न संरचनागत समितिहरुमा पाँच सय १३ जना बालबालिकाहरु रहेका छन् । यसअघि हेटौँडा उपमहानगरपालिकाको १, २, ७, ८ र १७ नम्बर वडा बालमैत्री वडा घोषणा भइसकेको छ । शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको थियो ।