बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको घर तथा कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ । अवैध सम्पत्ति आर्जन र सम्पत्ति लुकाएको आशंकामा विभागले उनको काठमाडौं र हेटौंडा स्थित घरमा छापा मारेको हो ।

कांग्रेस बागमती प्रदेश सभापति एवम् मुख्यमन्त्री बानियाँको काठमाडौंको नक्साल र सुन्धारा तथा हेटौंडा–५, पिप्लेस्थित घर–कार्यालयमा एकैपटक विभागले छापा मारेको हो । बानियाँको हेटांडा–५ स्थित घर र कार्यालयमा सम्पत्ती शुद्धीकरण विभागको टोलीले २ घण्टा बिताएको थियो । हेटौंडा–५ पिप्ले स्थित बानियाँ निर्माण सेवा ९विएनएस० र हेटौंडा–५ स्थित सानोपोखरा चोकको रहेको घरमा सोमबार दिउँसो १२ बजेदेखि २ बजेसम्म विभागको टोलीले अनुन्धान गरेको थियो ।

बानियाँको हेटौँडा–५ स्थित पिपलेको घरमा विभागको टोलीमा ७ जना सहभागी थिए । सोमबार बिहान हेटौंडा आएको विभागको टोली थप बल आवश्यक परे प्रशासनसँग समन्वय गर्नेगरी छापा मारेको थियो । सम्पत्ति शुद्धीकरण विभागले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई आवश्यक सुरक्षा प्रबन्ध मिलाउन आइतबार नै आग्रह गरेको थियो ।

प्रहरीले सादा पोशाकमा समेत आवश्यक जनशक्ति परिचालन गरेको थियो । उनी ‘क’ वर्गको निर्माण व्यवसायी हुन् । उनको बानियाँ निर्माण सेवा कम्पनी रहेको छ ।