हेटौँडा : संघीय सरकारको सुकुम्बासी बस्ती भत्काउने कार्यको विरोध गर्दै मकवानपुरका भूमिहिन सुकुम्बासीहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । सुकुम्बासीलाई उठिबास लगाउने नभई व्यवस्थापन गर्न माग गर्दै उनीहरुले हेटौँडा–११ थानाभर्याङबाट सोमबार बिहान ११ बजे र्याली निकालेर जिल्ला प्रशासन कार्यालय पुगेका हुन् ।
व्यानरसहित नारावाजी गर्दै सुकुम्बासी बस्तीका नागरिकले विरोध जनाएका छन् । भूमिहिन सुकुम्बासीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । काठमाडौंसँगै देशभरका सुकुम्बासीको लगत संकलन गर्न गृह मन्त्रालयले जिल्ला प्रशासनलाई निर्देशन दिएसँगै मकवानपुरका सुकुम्बासीहरु सशंकित छन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले भने गृह मन्त्रालयको निर्देशन बमोजिम सुकुम्बासीको लगत संकलन कार्य भइरहेको जानकारी दिनुभएको छ ।












