हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ८ स्थित साततलेमा रेबिजका कारण २ जनाको मृत्यु भएको छ । १० दिनको अन्तरालमा वडाभित्र २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५ वर्षीया रबिना थोकर र ३२ वर्षीय कमल नेगी रहेका छन् । वडा स्वास्थ्य केन्द्रकी वरिष्ठ अनमी रोजी पण्डितका अनुसार दुबै जनालाई बेवारिसे कुकुरले टोकेको थियो । थोकरलाई ६ महिना अघि र नेगीलाई ५ महिना अघि कुकुरले टोकेको अनमी पण्डितले बताउनुभयो ।

कुकुरको टोकाइबाट थोकरको साउन १८ गते र नेगीको साउन २८ गते मृत्यु भएको थियो । ५ वर्षीय थोकरलाई रेबिज भएको थाहा भएपश्चात् छतिवन लगिएको थियो । छतिवनबाट थोकरलाई हेटौंडा अस्पतालमा रिफर गरिएको थियो । हेटौंडा अस्पतालबाट थप उपचारका लागि काठमाडौं रिफर गरेर लैजाने क्रममा काठमाडौंको बल्खुमा थोकरको मृत्यु भएको थियो ।

यस्तै, नेगीलाई स्थानीयले लक्षण देखेपछि उपचारको लागि आग्रह गर्दा पनि उपचार गर्न नगएको बताइएको छ । नेगीलाई साउन २५ गतेदेखि गाह्रो भएको थियो । रेबिज लागेर स्वास्थ्य अवस्था जटिल भएपछि हेटौंडा अस्पताल ल्याउले क्रममा नेगीको हटियामा मृत्यु भएको थियो । वडामा दुईजनाको मृत्यु भएपश्चात् दुईटा घटना गरी वडाका ६५ जना बासिन्दालाई रेबिजविरुद्धको खोप लगाइएको छ ।

गत आर्थिक वर्ष २०८०/०८१ मा मकवानपुरमा रेबिजका कारण ४ जनाको मृत्यु भएको थियो । जिल्लाको बकैया गाउँपालिकामा एक जना, थाहा नगरपालिकामा २ जना र मकवानपुरगढी गाउँपालिकामा एक जनाको रेबिजका कारण मृत्यु भएको थियो ।

वडामा सामुदायिक कुकुरको व्यवस्थापन नगरिएमा थप मानवीय क्षति हुनसक्ने वडा नम्बर ८ का वडा अध्यक्ष इन्द्रमणि तिमल्सिनाले बताउनुभयो । वडा नम्बर ८ मा मात्र सयको संख्यामा सामुदायिक कुकुरहरु रहेका छन् । रेबिजको समस्या हटाउन स्थानीय सरकारबाट हुनसक्ने सबै कुरा पुरा गरिने वडा अध्यक्ष तिमल्सिनाले प्रतिबद्धता जनाउनु भएको छ । बागमती गाउँपालिकाले शुक्रबार रेबिजको लक्षणहरुबारे सूचना जारी गरेको छ ।

रेबिजको घटना भएपछि वडाले पीडित पक्षका लागि क्षतिपूर्ति दिन प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा कुरा राखेको र मन्त्रालयबाट सम्बोधन हुने आश्वासन आएको तिमल्सिनाले बताउनुभयो । मानिसमा मात्र नभई रेबिज गाई, भैंसी, भेडा, बाख्रा, घोडा, गधा, सुँगुर, बंगुर र बिरालोमा पनि लाग्न सक्छ । रेबिजको लक्षण देखिएपछि गाउँपालिकाले आवश्यकता अनुसार पशुहरुलाई खोप लगाइरहेको गाउँपालिकाका पशु चिकित्सक बिमोचन पौडेलले बताउनुभयो । गाउँपालिकाले यसअघि घरपालुवा कुकुरलाई मात्र खोप लगाउँदै आएको थियो । पौडेलका अनुसार गाउँपालिकालले बेवारिसे कुकुरलाई पनि खोप लगाउने कार्यविधि छलफलमा आइरहेको बताउनुभएको छ ।

गाउँपालिकामा धेरै जङ्गल भएका कारण जङ्गली जनावर आउने गरेका छन् । गाउँपालिकाका गाई भैंसीमा स्यालको आक्रमण बढिरहेको कारण चुनौती आइरहेको पौडेलले बताउनुभयो । गाउँपालिकाका कुकुरहरुलाई जङ्गली जनावरले टोक्ने र कुकुरले कुकुरलाई वा मानिसलाई टोकिरहँदा र्यालमार्फद रेबिज सर्ने गरेको छ ।

पशु चिकित्सक पौडेलका अनुसार मानिसको टाउकोतिर कुकुरले टोक्दा मृत्युको जोखिम बढि हुने गरेको छ भने हात खुट्टामा कुकुरले टोक्दा मुत्युको जोखिम कम हुने गरेको छ । रेबिजको औषधी महङ्गो हुने भएकाले आर्थिक स्थिति कम भएका मानिसहरुले बेवास्ता गरिरहेका छन् ।

ज्वरो आउने, घाउ भएको स्थानमा दुख्ने, भम्झमाउने, घोचे, पोलेजस्तो हुने, भाइरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायुहरु सुन्निने, प्रभावित व्यक्तिको क्रियाकलापहरु र व्यवहारमा परिर्वतन आउने, पानीदेखि डराउने, हावाको चालबाट तर्सिने रेबिज शरीरमा पसिसकेपछिको लक्षण हुन् । मानिसलाई रेबिज भएको पहिलो अवस्थामा टाउको दुख्ने, ज्वरो आउने, घाँटी, जीउ दुख्ने हुन्छ भने बिरामी साना–तिना कुरामा पनि उत्तेजित हुने गर्दछन् ।

यस्तै, दोस्रो अवस्थामा चिडचिडाहट हुने, अँध्यारो सुनसान कोठामा एक्लै बस्न रूचाउने, जोसँग वा जेसुकै गर्दा पनि रिसाउने, पानीसँग खेल्नमात्र नभई पानी हेर्नै डराउने हुन्छ । जसकारण श्वासप्रश्वासमा कठिनाई हुने हुनाले तीर्खा लागे पनि बिरामीले पानी खान सक्दैन । तेस्रो अवस्थामा र्याल चुहाउने, अरूलाई टोक्न खोज्ने, विस्तारै हातगोडा नचल्ने र अन्तिममा मानिसको मृत्यु हने चिकित्सकहरु बताउँछन् ।