हेटौँडाः बागमती प्रदेशको विभिन्न घटनामा एकै दिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, दोलखा र सिन्धुपाल्चोकमा एकै दिन ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । चितवनको भरतपुर महानगरपालिका–२, स्वामीचोक नजिकै सिचाई नहरमा अचेत अवस्थामा फेला परेका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा सिरानचोक गाउँपालिका–८ चिप्लेटि घर भई हाल भरतपुर महानगरपालिका–११ बसेनी बस्ने १० वर्षीय एल्सन परियार रहेको प्रहरीले जानकारी दिएको छ ।
शुक्रबार दिउँसो ३ बजेर १५ मिनेटको समयमा परियार सिचाई नहरमा पौडी खेल्ने क्रममा डुवि बेपत्ता भएका थिए । बेपत्ता भएका परियारलाई प्रहरी निरक्षकको कमाण्डमा बिपद सहितको टोली खटी गई उद्दार गरी उपचारका लागि सरकारी अस्पताल भरतपुर लगिएकोमा उपचारको क्रममा साँझ ५ बजेर १५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, दोलखाको जिरी नगरपालिका–२, भिरखर्कमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ३६ वर्षीय शेर बहादुर खत्री रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार खत्री आफ्नै घरमा आफु सुत्ने कोठामा मृत अबस्थामा फेला परेका थिए । अनुसन्धान कार्य भईरहेका प्रहरीले जानकारी दिएको छ ।
सिन्धुपाल्चोक जिल्लाको इन्द्राबति गाउँपालिका–१२, सिपाघाटमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा मेलम्ची नगरपालिका–८ किउरेनी बस्ने ५० वर्षीय काईला तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार दिउँसो २ बजेको समयमा तामाङ इन्द्रावतिखोलामा मृत अवस्थामा फेला परेका थिए ।