हेटौँडाः मकवानपुरको बकैया गाउँपालिकाको कार्यालयमा उपाध्यक्ष भक्तबहादुर खत्रीको नेतृत्वमा तालाबन्दी गरिएको छ । पालिकाको शाखाको जिम्मेवारी तोक्ने विषयमा अध्यक्ष धर्मराज लामिछाने र उपाध्यक्ष खत्री बीच विवाद भएपछि गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको हो ।
उपाध्यक्ष खत्रीको नेतृत्वमा भएको तालाबन्दीमा एमाले र माओवादी केन्द्रका जनप्रतिनिधिहरुको ऐक्यवद्धता रहेको छ । गाउँपालिकाको सामाजिक र स्वास्थ्य शाखाको जिम्मेवारीका विषयमा विवाद हुँदा उपाध्यक्ष खत्रीको नेतृत्वमा एमाले र माओवादी केन्द्रका जनप्रतिनिधिहरुले तालाबन्दी गरेका हुन् ।
फटिकरमण प्याकुरेल अधिकृत स्तर छैठौंलाई सामाजिक विकास र सोही तहका रमेश फुयाललाई स्वास्थ्य शाखाको जिम्मेवारी तोक्ने गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले निर्णय गर्ने तयारी गरेसँगै उपाध्यक्ष खत्रीले असहमति जनाउनुभएको थियो । उपाध्यक्ष खत्रीले प्याकुरेललाई स्वास्थ्य शाखाको जिम्मेवारीमा नै राख्नु पर्ने माग गर्नुभएको थियो । उक्त विषयमा अध्यक्ष लामिछानेले आफ्नो निर्णयबाट पछि नहट्ने जनाउनु भएसँगै उपाध्यक्ष खत्रीले जे पनि हुन सक्ने चेतावनी दिनुभएको थियो । यसअघि स्वास्थ्य शाखा र सामाजिक विकास शाखाको जिम्मेवारी प्याकुरेलले सम्हाल्दै आउनुभएको थियो ।
गाउँपालिका अध्यक्षले एकलौटी रुपमा निर्णय गर्ने प्रवृत्ति बढेको भन्दै विरोध गरिएको उपाध्यक्ष खत्रीले बताउनुभएको छ । अध्यक्षले छलफल र समन्वय नै नगरी कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने, विवादास्पद निर्णयहरु गरेको उहाँको भनाई छ ।
यता गाउँपालिका अध्यक्ष लामिछानेका अनुसार अध्यक्षको अधिकार क्षेत्र माथि उपाध्यक्ष खत्रीले हस्तक्षेप गर्न खोजेको बताउनुभयो । नागरिकको सेवा सहजताका लागि समान तहका २ जना कर्मचारीको जिम्मेवारी बाँडफाँड गर्दा उपाध्यक्ष खत्रीले अनावश्यक विवाद सुरु गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार उपाध्यक्ष खत्रीले अध्यक्षको क्षेत्राधिकार माथि अनावश्यक राजनीतिक गरेर हस्तक्षेप गरेको बताउनुभयो । अध्यक्ष लामिछाने नेपाली कांग्रेसबाट निर्वाचित हुनुहुन्छ भने उपाध्यक्ष खत्री नेकपा माओवादीको तर्फबाट निर्वाचित हुनुभएको हो ।