हेटौँडाः नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य समेत रहनुभएकी हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको बचाउमा विज्ञप्ति जारी गरेको छ । हेटौँडा उपमहानगरपालिकाले अस्वभाविकरुपमा राजश्वको दर र दायरा वृद्धि गरेको विषयमा व्यवसायी आन्दोलित भइरहेका बेला नेकपा एकीकृत समाजवादीको हेटौँडा उपमहानगर कमिटीका सचिव सफल अधिकारीले शुक्रबार विज्ञप्ति जारी गर्दै नगरप्रमुख लामाको बचाउ गरिएको हो ।

व्यवसायीको आन्दोलनप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “संघीय सरकारबाट अनुदान कटौति भएको र लामो समयदेखि कर वृद्धि नगरिएको सन्दर्भमा राजश्व परामर्श समिति, नगरपालिका बोर्ड हुँदै नगरसभाबाट समग्रमा ५० प्रतिशत वृद्धि गरिएको देखिन्छ ।” नगरप्रमुख र उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत समेतले राजश्व बढाउनुपर्ने कारणबारे उल्लेख नभएका सन्दर्भलाई नगरप्रमुख सम्वद्ध पार्टीले उल्लेख गरेको छ ।

नगरप्रमुखको बचाउ गर्न नगरसभाका बहुमत सदस्यले विशेष नगरसभाको मागलाई औचित्यमाथि नै प्रश्न गरिएको छ । राजश्व परामर्श समितिमा राजश्वको विषयमा छलफल भए पनि राजश्वको दर बढाउने निर्णय नभएको, नगर कार्यपालिका र नगर सभामा त राजश्वको दर र दायराका विषयमा कुनै किसिमको छलफल नै नभएको भनी नगरसभा सदस्य, कार्यपालिका सदस्यले स्पष्ट पारिरहेको र सरोकारवाला र सञ्चारकर्मी समेतले निर्णयको माइन्युट सार्वजनिक गर्न आग्रह गर्दा उपमहानगरपालिकाले निर्णयको माइन्युट सार्वजनिक गर्न नसकेको सन्दर्भलाई मूल्यांकन नै नगरी उल्टै बहुमत नगरसभा सदस्यले विशेष अधिवेशन माग गर्नुलाई धमिलो पानीमा माछा मार्ने प्रयास भएको भनी बचाउ गरिएको छ ।