फाइल तस्वीर ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले शिक्षक बैंक स्थापना गर्दैछ । शिक्षक बैंक स्थापनाका लागि शनिबार परीक्षा सञ्चालन भएको छ । शिक्षक बैंकमा आवद्ध हुन आव्हान गर्दा दुई सय ६१ जनाले फारम भरेकोमा ४० जना परीक्षामा अनुपस्थित भएको हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका नासु राजमणि अधिकारीले जानकारी दिनुभयो । दुई सय २१ जना परीक्षामा सहभागी भएका छन् ।

शिक्षा महाशाखाले प्रारम्भिक बालविकास कक्षा, प्राथमिक, निमावि र मावि तह गरी चार तहमा फरक फरक आवेदन आव्हान गरेको थियो । प्रारम्भिक बालविकास कक्षाको शिक्षकको रुपमा शिक्षक बैंकमा आवद्ध हुन ८७ जनाले आवेदन दिएकोमा ७४ जना मात्रै परीक्षामा सहभागी भएका छन् । यस्तै प्राथमिक तहमा ९६ जनाले आवेदन दिएकोमा ८४ जना, निमावि तहमा ६२ जनाले आवेदन दिएकोमा ४९ जना र मावि तहमा १६ जनाले आवेदन दिएकोमा १४ जनाले मात्रै परीक्षा दिएका छन् ।

प्रारम्भिक बाल विकास कक्षाका सहयोगी कार्यकर्ताका लागि ३ घण्टाको परीक्षा लिइएको छ । १०० पूर्णाङ्कको परीक्षामा सहभागी मध्ये ४० अङ्क हासिल गर्ने परीक्षार्थी उपमहानगरले स्थापना गर्ने शिक्षक बैंकको सूचिमा समावेश हुनेछ । प्राथमिक, निमावि र मावि तहका लागि भने एक घण्टाको प्रारम्भिक परीक्षा लिइएको शिक्षा महाशाखाका प्रमुख सीताराम कोइरालाले जानकारी दिनुभएको छ । प्रारम्भिक चरणको बस्तुगत परीक्षामा ५० प्रतिशत अंक हासिल गर्ने परीक्षार्थीले विषयगत परीक्षामा सहभागी हुनुपर्नेछ । प्रारम्भिक चरणको परीक्षाको नतीजा एक साताभित्र सार्वजनिक हुने बताइएको छ ।

हेटौँडा उपमहानगरपालिकाले पहिलो पटक शिक्षक बैंक स्थापना गर्न लागेको हो । विद्यालयमा शिक्षकको अभाव नहोस्, कार्यरत शिक्षक लामो विदामा बस्नुपर्ने अवस्थामा शिक्षक बैंकमा सूचीकृत शिक्षकलाई खटाउने गरी हेटौँडा उपमहानगरपालिकाले कार्यविधि बनाएर शिक्षक बैंक स्थापना गर्न लागेको हो ।