हेटौँडाः हेटौँडा–१७, हटियास्थित बालबोध माध्यमिक विद्यालयले स्थापना गरेको जेहेन्दार विद्यार्थी छात्रवृत्ति कोषमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप अर्यालले एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्यालले शुक्रबार विद्यालयका प्रधानाध्यापक दीपकलाल श्रेष्ठलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको छ ।
विद्यालयले स्थापना गरेको जेहेन्दार विद्यार्थी छात्रवृत्ति कोषमा एक लाख ७५ हजार रुपैयाँ जम्मा भएको छ । कोषमा सहयोगको घोषणा गरेको एक लाख ७५ हजार रुपैयाँ भने उठ्नै बाँकी रहेको प्रधानाध्यापक श्रेष्ठले बताउनुभएको छ । घोषणा गरेको रकम उठाउने प्रयास भइरहेको उहाँको भनाइ छ ।
१२ कक्षासम्म पठनपाठन हुने बालबोध माविमा करिब चार सय विद्यार्थी अध्ययनरत छन् । २०८० सालको एसईईमा ४४ जना विद्यार्थी सहभागी भएकोमा २१ जना विद्यार्थी कक्षा ११ भर्ना हुन योग्य भएका थिए । कक्षा १२ मा व्यवस्थापन संकायमा १३ जना विद्यार्थी अध्ययनरत छन् भने कक्षा ११ मा व्यवस्थापन संकायमा ५ जना र शिक्षाशास्त्र संकायमा ६ जना विद्यार्थी भर्ना भएको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिनुभएको छ । एसईई ग्रेडवृद्धि मौका परीक्षाको नतीजापछि कक्षा ११ मा केही विद्यार्थी बढ्ने अपेक्षा गरिएको उहाँको भनाइ छ ।