हेटौंडाः यु–२० को राष्ट्रिय टिममा मकवानपुरका गोलरक्षक कृशल मोक्तान छनोट भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) यु–२० को राष्ट्रिय प्रतियोगिताका लागि शनिबार २३ सदस्यीय टोलीको अन्तिम नाम घोषणा गर्दा मकवानपुरका गोलरक्षक मोक्तान राष्ट्रिय टिममा छनोट भएका हुन् ।
काठमाडौंमा भदौ २ गतेदेखि १२ गतेसम्म हुने साफ यु–२० च्याम्पियनसीप प्रतियोगिताका लागि राष्ट्रिय टिम घोषणा गर्दा मकवानपुरका मोक्तान छानिएका हुन् । मोक्तानले यु–२० राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन पाउनेछन् । मोक्तानले यु–१७ राष्ट्रिय प्रतियोगितामा सहभागी भएर उत्कृष्ट प्रदर्शनी गरेका थिए ।
श्रीलंकामा करिब २ वर्ष अघि सेप्टेम्बर महिनामा भएको यु–१७ पुरुष च्याम्पियसनसीपको प्रतियोगितामा सहभागी भएका मोक्तानले विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शनी गरेका छन् । मोक्तानसहित २३ सदस्यको नाम घोषणा गर्दा जियारत शेख र विशाल केसी पनि गोलरक्षकमा छनोट भएका छन् ।
प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा घरेलु टोली नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ भने भदौ ६ गते नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । नेपालको राष्ट्रिय टिममा सिमन्त थापा, अस्विन घोरासैनी, बिक्रम तामाङ, आयुष तिमल्सिना, मधन पौडेल, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निनशङ लिम्बु, कुशव देउवा छन् । यस्तै, अभिनव स्याङ्तान, जनप्रकाश बम, लछु थापा, निरज कार्की, हरिशराज भट्ट, धरवेन्द्र कुनवर, अनिल वमजन, निराजन धामी र रोहन खड्गी राष्ट्रिय टोलीमा परेका छन् ।