सूचना प्रविधिको विकासले हामीलाई धेरै कुरामा सहज भएको छ । स्वास्थ्य, शिक्षा, भ्रमण, मनोरञ्जन, व्यापार–व्यवसाय, बैंक तथा वित्त, कृषि सबै क्षेत्रमा इन्टरनेट र सूचना प्रविधिको प्रयोग भइरहेको छ । सूचना प्रविधिले हामीलाई धेरै काम गर्न सहज बनाए पनि यसले धेरै नकारात्मक प्रभावहरु पनि ल्याएको छ । इन्टरनेट र यससँग जोडिएका विभिन्न सामाजिक सञ्जाल तथा गेमिङ प्रोग्रामका साथै व्यक्ति, संस्था वा सरकारको गोपनीयता हरणसम्मको समस्याका कारण सूचना प्रविधिको नकारात्मक असर विकराल बन्दै गएको छ । प्रविधिको आवश्यकता र पहुँच बढ्दै जाँदा प्रविधिको प्रयोग गरेर हुने ठगीका घटनाहरु बढ्न थालेका छन् । चिठ्ठा परेको तथा उपहार पठाउने लोभ देखाउने, नेटवर्किङ तथा क्रिप्टोमा लगानी गर्न रकम माग्ने, ओटीपी माग्ने, अनलाइनबाट सामान पठाउनुअघि पैसा लिने गरेर अनलाइन ठगी हुने गरेको छ । नेटवर्किङ, क्रिप्टो आदिमा लगानी गर्न पैसा मागेर पनि अनलाइन ठगी हुने गरेको छ । ह्याकिङ, फिसिङ, बुलिङ, ब्ल्याक मेलिङजस्ता माध्यमबाट पनि अनलाइन ठगीका प्रयास भइरहेका छन् ।

मोबाइल, इन्टरनेट तथा सामाजिक सञ्जालबाट हुने अधिकांश ठगीका घटना भारतमा आधारित हुने गरेको प्रहरी अनुसान्धनबाट देखिए पनि पछिल्लो समय नेपालमै कार्यालय खोलेर भारतीयहरुले अनलाइनमार्फत् ठगी गरेको पाइएको छ । नेपालमै कम्पनी दर्ता गरेर अनलाइन ठगी गर्नुले साइबर सुरक्षामा गम्भीर चुनौती बन्नसक्ने सम्भावना देखिएको छ । सोमबारमात्रै मकवानपुर प्रहरीले अनलाइनमार्फत् ठगीको अभियोगमा हेटौंडाबाट ९ जना भारतीय नागरिक पक्राउ गरेको छ । मेडी असिस्ट नामको कम्पनीमार्फत् अनलाइन ठगी भइरहेको सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । हेटौंडा–४, पारिजातपथस्थित एक घरको पाँचौं तला भाडामा लिएर उनीहरुले अनलाइनमार्फत् ठगी गरिरहेको बताइएको छ । पक्राउ पर्नेहरु भारतको बिहार, झारखण्ड, उत्तराखण्ड र उत्तर प्रदेशका छन् । उनीहरुको साथबाट कम्पनीको छापसहित ल्यापटप ७ थान, राउटर ३ थान, मोबाइल १३ थानलगायत सामग्री बरामद गरिएको छ ।

परामर्श सेवा प्रदान गर्ने उद्देश्यले खोलिएको मेडी असिस्ट कम्पनी २०८० फागुन १० गते हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा दर्ता गरिएको पाइएको छ । भारतको नयाँदिल्ली स्थायी बसोबास गर्ने द्रबिनकुमार सिंहको नाममा कम्पनी दर्ता भएको र मानव स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्ने गरी आन्तरिक राजस्व कार्यालय हेटौंडामा पान दर्तासमेत गरिएको छ । कम्पनीमा काम गर्ने भनिएको १२ जनामध्ये द्रबिनकुमारसहित ३ जना फरार छन् । भारतको राँचीस्थित मुख्य कार्यालयमा मेन सर्भर राखी क्विक कल क्लाइन्ट सफ्टवेयरमार्फत् काम गर्ने गरेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ । सो सफ्टवेयरमार्फत् लक्षित समूह पहिचान गरी सम्पर्क गर्ने र सम्पूर्ण विवरण भारत ट्रान्सफर गर्ने गरिएको प्रहरीको भनाइ छ । प्रहरी अनुसन्धानबाट कम्पनीले कानुनबमोजिम कुनै पनि आर्थिक कारोबार नगरेको र अभिलेखसमेत नराखेको फेला परेको छ । काम कारवाहीको डाटासमेत हेड अफिसको सर्भरमा राख्ने गरेको र अधिकांश रातको समयमा मात्र काम गर्ने गरेको अनुसन्धानमा खुलेको छ ।

विभिन्न किसिमका साइबर अपराध र अनलाइन ठगी भएको भन्दै प्रहरीमा उजुरी दिने क्रम बढ्दो छ । लोभ, प्रलोभन, महत्वाकांक्षा, संवेगलाई नियन्त्रण गर्न नसक्दा र इन्टरनेट सुरक्षाका बारेमा पर्याप्त जानकारी नहुँदा अनलाइन ठगीका घटना बढ्ेका हुन् । अनलाइन ठगीबाट बच्न आम नागरिक स्वयम् सचेत हुनुपर्छ । सामाजिक सञ्जालमा जोडिएकै कारण वा कसैले भन्दैमा सजिलै विश्वास गर्नु हुँदैन । सूचना प्रविधिले दिएको सकारात्मक कुराहरुबाट फाइदा लिँदै यसका नकारात्मक पक्षप्रति सचेत भएर सुरक्षाका उपायहरु अपनाउनु नै साइबर अपराध र अनलाइन ठगीबाट बच्ने उपाय हो । सूचना प्रविधिको दुरुपयोग गरेर आपराधिक क्रियाकलाप गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनको थप सक्रियता आवश्यक छ ।