डि.बी. मोक्तान
वर्तमान राजनीतिक अन्यौलताले देशलाई कतिखेर मुग्लिनको सिमलतालमा पुर्याउने हो भनेर नेपाली जनता आतङ्कित छन् । सिमलतालमा वेपत्ता बसहरु २० वर्षपछि पनि फेला परिएला तर देश डुव्यो भने कहिल्यै फेला पर्नेछैन । २०८१ असार २८ गते राती उत्तरबाट रन्केर आको गणपति बस र दक्षिणबाट सन्केर गाको न्यु एन्जल्स बस सिमलताल पुग्दा माथिबाट लेदोसहितको पहिरो आको देख्दादेख्दैको पहिले पारीपट्टि पुग्ने भन्ने होडमा अगाडि बढ्दा बाटो साँघुरो भएकै कारण दुवै बस बीचमै अडकिन पुग्यो र लेदोले दुवै बसलाई हेर्दाहेर्दै नारायणीमा बगाई दियो । जो अहिलेसम्म पनि फेला पार्न सकिएको छैन । यो अति नै दर्दनाक दृश्य थियो । जसलाई शब्दमा व्यक्त गर्न सकिँदैन ।
ठीक त्यसैगरी यतिखेर देउवा र ओलीले देश र जनतालाई सिमलतालमा लाँदैछ । मात्र अब लेदो आउन बाँकी छ । त्यसैले सम्भावित दुर्घटनाबाट देश र जनतालाई कसरी बचाउन सकिन्छ भन्ने नै सबैभन्दा ठुलो चिन्ताको विषय भएको छ अहिले । दुर्घटनाबाट देश र जनतालाई बचाउने नै हो भने गठवन्धनको नाउँमा बनाइएका यि ठगवन्धनहरुको भ्रष्ट जालोलाई धुजाधुजा बनाएर जलाउनु पर्दछ । ठगवन्धनहरुको भ्रष्ट जालो त्यति कमजोर छैन जति हामीले सोँच्ने गरेका छौं । यसका लागि त जनताले चाहेको जननिर्वाचित प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीसहितको राजसंस्था ल्याउनु पर्दछ । जस्ले राजनीतिक स्थिरता सहितको निकास प्रदान गर्दछ । यसका लागि मानसिक रुपमा युद्धको मैदानमा जान जनता तयार हुनुपर्यो । किनकी ठगवन्धनहरुले गर्ने गरेका सत्तासमीकरणले देशको निकास र जनताको विकास कहिल्यै हुनेवाला छैन । हुनेभए बहुदल आएकै ३५ वर्ष र गणतन्त्र आएको १७ वर्ष भैसक्यो । देउवा ५ पटक, ओली ४ पटक र प्रचण्ड ३ पटक प्रधानमन्त्री बनिसके । देश र जनताले के पायो ? त्यहि २४ खर्ब ऋण होइन ?
अब जनता चुप लागेर बस्न मिल्दैन । घरघरबाट नागरिक उठनु जरुरी छ भन्ने आशयसहित २०८१ साउन ११ गते राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर जिल्ला समितिको हेटौँडा उपमहानगरपालिका वडा नं. १५ ले आफ्नो सातौं पूर्णकालिन बैठक सम्पन्न गर्यो । जिल्ला समितिको प्रमुख सल्लाहकार डा. डि.बी. मोक्तानको प्रमुख आतिथ्यमा सम्पन्न उक्त बैठकको अध्यक्षता वडा कमिटीको अध्यक्ष श्री विशाल थिङले गर्नु भएको थियो भने विशेष अतिथिको रुपमा जिल्ला वरिष्ठ उपाध्यक्ष श्री कविराज भट्टराई र अतिथिको रुपमा बागमती प्रदेश सचिव श्री गुन्जन बहादुर नेउपाने उपस्थित हुनुहुन्थ्यो ।
वि.सं. २०७९ को स्थानीय चुनावमा गठन गरिएको यो वडा समितिले विभिन्न समय र परिस्थितिसँग संघर्ष गर्दैै सातौं बैठकसम्म आइपुग्न सफल भएकोमा प्रमुख अतिथि डा. डि. बी. मोक्तानले वडाका पदाधिकारी तथा सम्पूर्ण वडाबासीहरुमा धन्यवादसहित हार्दिक कृतज्ञता प्रकट गर्नु भएको थियो । संघीय लोकतान्त्रिक गणतन्त्रको आगमनसँगै राजसंस्थाको अबसान हुन पुगेकोमा राजसंस्थाप्रति आस्था र विश्वास राख्ने तमाम राप्रपा समर्थक जनताको मनमा ठूलो आघात पुगेको तथ्य एकदमै सत्य हो । राष्ट्रवादी नेता कमल थापा नेतृत्वको राप्रपा नेपालको संगठन विहानीको शीत बिलाए झैं बिलाएर गएपछि कार्यकर्ताहरु किम्कर्तव्यविमूढ हुनपुगे । बिना गन्तव्य अन्धकारमै दौडिई रहे । दौडिने क्रममा कोही एमाले, कोही काँग्रेस, कोही माओवादी, कोही नेकपा एस र कोही मधेशवादी दलमा समेत समाहित हुनपुगे ।
२०७७ को महाधिवेशन पश्चात एकाएक राजेन्द्र लिङदेनको उदय हुन पुग्यो । भ्रष्टाचार गर्दिन र गर्न दिन्न, किनकी भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो भन्ने प्रतिवद्धताले सच्चा देशभक्तहरुको मन छोयो । त्यत्ति नै खेर भ्रष्टाचार विरुद्धको महान अभियन्ता र लाखौं जनताको ढुकढुकी भनेर चिनिने ज्ञानेन्द्र शाहीको इन्ट्रीले लिङदेनको भ्रष्टाचार विरुद्धको अभियानलाई थप शक्तिशाली बनायो । त्यसपछि क्रमशः धवलसमशेर राणा, ध्रुव बहादुर प्रधान, गोपी हमाल, बुद्धिमान तामाङ, डा. प्रकाशचन्द्र लोहनी, पशुपति समशेर राणा, दीपक बहादुर सिंह जस्ता स्वच्छ छवि भएका महान व्यक्तित्वहरुको ऐक्यवद्धताले राजेन्द्र लिङदेन नेतृत्वको राप्रपालाई सगरमाथाको उचाईमा पुर्याउने काम गर्यो । तर यस जिल्लामा लिङदेन नेतृत्व राप्रपाको नामोनिशान नभएकोले संगठन निर्माण भएको थिएन ।
समय आफ्नै गतिमा दौडिई रह्यो । २०७९ को स्थानीय चुनाव आयो । तर राप्रपा लिङदेन फर्केर आएन । स्थानीय चुनावमा वडाबाट कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा कुरा उठ्यो तर उम्मेदवार बन्न कोही तयार थिएनन् । किनकी संगठन नै थिएन । लज्जास्पद हार बेहोर्नु भन्दा उम्मेदवारी नै नदिने भनेर उम्मेदवार बन्ने कोही भएनन् । यस किसिमको असन्तुलित अवस्थामा पनि राप्रपाको बीउमात्र भएपनि जोगाउनु पर्छ भन्ने आशयसहित स्थानीय युवा तथा जिल्ला सदस्य महेन्द्र कुमार घलानको संयोजन तथा हालको माननीय दिपक बहादुर सिंहको सहकार्यमा स्थानीय चुनावमा उम्मेदवारी दिने निर्णयसहित वडा कमिटी गठन गरी विधिवत रुपमा राप्रपाको जग बसाल्ने काम गरियो र चुनावमा भाग लिइयो । त्यसरी राप्रपा लिङदेनको छवि फैल्याउन काम हामीले ग¥यौं । यो क्रम निरन्तर अघि बढिरहेको छ र निरन्तर बढी नै रहने छ । यसलाई अध्यक्ष लिङदेन ज्युले गम्भीरतापूर्वक लिनु पर्दछ ।
स्थानीय चुनाव सकिने बित्तिकै प्रतिनिधी सभा र प्रदेश सभाको चुनाव आयो । जतातत्तै चुनावी रौनक छायो । प्रतिवद्धतासहितको घोषणापत्रहरु प्रत्येक कार्यकर्ताहरुको हातहातमा देखिन्थ्यो । कार्यकर्ताहरु आ–आफ्नो उम्मेदवार जिताउन रातदिन मतदाताहरुलाई फकाउन तल्लिन देखिन्थे । मकवानपुरको क्षेत्र नं. १ (क) को प्रतिनिधि सभाको उम्मेदवार दीपक बहादुर सिंह र प्रदेश सभाको उम्मेदवार गुन्जन बहादुर नेउपाने हुनु हुन्थ्यो । १५ नम्बर वडा कमिटीले पनि आफ्नो उम्मेदवार जिताउन कुनै कसर बाँकी राखेन । तन, मन, वचन र कर्मले सहयोग गर्यो । तर प्रदेश सभामा सफल हुन सकिएन तथापि प्रतिनिधी सभामा विजय प्राप्त गर्न सफल भइयो । जनताको मायाको उपहार स्वरुप दीपक बहादुर सिंहलाई मकवानपुरको क्षेत्र नं. १ (क) बाट प्रतिनिधी सभामा पठाउन सफल भइयो ।
तत्पश्चात् यस वडामा मात्र होइन जिल्लाभरी नै वडा र गाउँपालिकास्तरमा पार्टीको भेला वा बैठक राखेको देखिएन । यस वडाको आजको भेला नै जिल्लाको पहिलो बैठक हो भन्ने लागेको छ । यहि आउँदो मंसिर, पुसमा जिल्लाको अधिवेशन हुँदैछ भन्ने थाहा पाइयो । गाउँपालिकाको वडा परिषद्देखि गाउँ कार्यसमितिको अधिवेशन, नगरपालिका तथा उपमहानगरपालिकाको वडा परिषद्देखि वडा कमिटी हुँदै नगरपालिका तथा उपमहानगरपालिकाको अधिवेशन बाँकी नै छ । त्यसैगरी प्रदेशस्तरीय चारवटा क्षेत्रको क्षेत्रीय परिषद् तथा दुइवटा संघीय परिषद्को अधिवेशन बाँकी नै छ । त्यसपछि मात्र जिल्लाको अधिवेशन हुने होला । तर अहिलेसम्म जिल्ला समितिका पदाधिकारीहरुबाट आफ्नो मातहतको पार्टी संगठनहरुलाई स्थानीय तहको अधिवेशनको तयारी गर्ने गराउने बारे कुनै निर्देशन गएको छैन । त्यसो हुँदा अहिलेसम्म पूर्वतयारी कहीँ कतै देखिँदैन । थोरै न्यास्रो यहाँनिर लागेको छ ।
असोज र कातिक महिना नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वमा बित्ने गर्दछ । जिल्लाभरीको १०२ वटा वडाहरुमा वडा परिषद् र वडा समितिको अधिवेशन, त्यसपछि ८ वटा गाउँपालिका र एउटा नगरपालिका र एउटा उपमहानगरपालिकाको अधिवेशन सम्पन्न गर्न समय अभाव हुन सक्दछ । विधानको विधि अनुसार चल्नै पर्ने हुन्छ । स्थानीय तहमा साधारण सदस्य बनाई परिषद्को गठन गरी कार्य समितिको गठन गरी माथिल्लो तहमा प्रतिनिधीहरु पठाउनु पर्ने हुन्छ । त्यसो हुँदा समयाभाव हुन गई जिल्ला अधिवेशनमा ढिलाई हुनसक्ने सम्भावनालाई मध्येनजर गर्दै भदौ महिनादेखि नै स्थानीय अधिवेशनमा जोड दिन आवश्यक छ । यसलाई केन्द्रीय तहबाटै निर्देशन गरिँदा उत्तम हुने देखिन्छ । जिल्लाका प्रतिनिधीहरु गाउँगाउँमा जान आवश्यक छ । स्थानीय परिषद् सदस्यहरुलाई राप्रपाको उद्देश्य, आगामी रणनीति तथा उनीहरुको दायित्व एवम् कर्तव्य बारे प्रशिक्षण दिनु जरुरी छ । त्यसो गर्नाले राप्रपामा आस्था राख्नेहरुको मनोवल उच्च हुनुको साथै जिम्मेवारी र अपनत्वको पनि बोध हुनेछ ।
गत साउन ६ गते केपी ओलीले विश्वासको दुई तिहाई मत प्राप्त गर्दै हाल गठवन्धन सरकार प्रमुखको रुपमा देशको प्रधानमन्त्री बनेको जगजाहेर छ । हुन त ओली संविधानको चोरबाटोबाट अर्थात नेपालको संविधानको धारा ७६.२ बमोजिम सरकारमा आएको छ, जुन संवैधानिक होइन । संविधानतः धारा ७६.३ बमोजिम सबैभन्दा ठुलो दल नेपाली काँग्रेसको सरकार बन्नु पथ्र्यो, तर त्यसो भएन । त्यसैले यो सरकार असंवैधानिक हो र केपीको पद खारेज गरी संविधानतः ७६.३ बमोजिमको सरकार बनोस भनेर सर्वोच्चमा रिट दायर भएको छ र निकट भविष्यमै संवैधानिक इजलाशबाट फैसला पनि हुनेछ ।
फैसला के हुन्छ थाहा छैन तर विडम्बना के छ भने प्रधानमन्त्री बनेको २४ घण्टा भाको छैन, उसका ६ जना उद्योगी व्यवसायी भनेर चिनिने मारवाडी मतियारहरुले १० वर्षदेखि तिर्नुपर्ने विद्युत प्राधिकरणको ८ अर्ब २६ करोड राजश्व तिर्न नपर्ने र काटिएको विद्युत लाइन तुरुन्त जडान गर्नु भनेर प्रबन्ध निर्देशकलाई उद्योग व्यावसायीहरुकै अगाडि राणाकालिन शासन जस्तो ठाडो आदेश दिन्छन् र प्रबन्ध निर्देशक जस्तो गरिमामय पदको खिल्ली उडाउँछ । ओलीको यस हर्कतबाट ऊ कतिको देशप्रेमी रहेछ । राष्ट्र र जनतालाई माया गर्दा रहेछन् कि मतियारलाई भन्नेत प्रष्टै बुझियो नि, हैन त ?
अर्को कुरा, यदि धारा ७६.३ बमोजिम देउवा नै प्रधानमन्त्री बनेछ भनेपनि नेपाली जनताले पाउने चाहीँ के हो र ? पाँचौं पटक प्रधानमन्त्री बन्दासम्म भएभरको खोलानाला बेच्यो, उद्योग र कारखानाहरु बन्द गरायो । युवालाई खाडीमा लखेट्यो । कसैलाई भुटानी शरणार्थी बनाएर बेच्यो । अब छैठौं पटक प्रधानमन्त्री बन्यो भने देशै बेच्ने होला । किनकी के नै बाँकी छ र ? त्यसैले देउवा र ओली किमार्थ राष्ट्रवादी र देशभक्त होइनन् । न त यिनीहरुले भुटानी शरणार्थीहरुको फाइल खोल्नेछ, न त गिरीवन्धु टी–स्टेटको नै फाइल खोल्नेछ । टेरामोक्स, सेक्युरिटी प्रिन्टिङ प्रेस, ललिता निवास, यती, ओम्नी, गोकर्ण र गोदावरी रिसोर्ट, टिकापुर, वाइड बडी, न्यारो वडी, लाउडा, धमिजा चाइना चेज एयर तथा सहकारी र सुन तस्करीहरुलाई कारबाही गर्नेको त कुरै नगरौं । त्यसैले यस्ताहरुबाट देशको विकास र राजनीतिक निकास आउँछ भन्नु साँढेको टाँगमुनि बाल्टिन राखेर दुध आउँछ भन्नु जस्तै हो ।
यस्ता राष्ट्रघाती दलालहरुको बाटो नहेरी देश र जनताको अत्यन्त आवश्यक मुद्दाहरुमा हामीले आवाज उठाउन जरुरी भएकोले राप्रपाको स्थानीय तहदेखि जिल्ला कार्यसमिति हुँदै केन्द्रसम्म हाम्रो सल्लाह तथा सुझावयुक्त सन्देशहरु पुगोस् जस्ले पार्टीभित्र नयाँ रक्तसंचार गराउन मद्दत मिल्नेछ । जय राष्ट्रवाद । (मोक्तान राप्रपा मकवानपुर जिल्ला समितिका सल्लाहकार हुनुहुन्छ ।)