रमेशप्रसाद लामिछाने

१. नेपालको राजधानी बागमती प्रदेशको प्रमुख शहर काठमाडौं अनि यस बागमती प्रदेशको समेत राजधानी मकवानपुर हेटौँडाको परिचय अब नौलो छैन । कुल २६१.५८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो रमणीय शहर हेटौँडा समुद्री सतहबाट ३६० मिटरदेखि बढिमा १८०० मिटरमा अवस्थित देशकै मध्यभागमा आकर्षक भौगोलिक संरचनासँगै अत्यन्त उपयुक्त हावापानी भएको शहर मुलुकमै प्रसिद्ध छ भन्दा अतिशयोक्ति नहोला ।

औद्योगिक नगरीको नामबाट देशमा भिन्न परिचय बनाएको हेटौँडा नगरको पौराणिक, ऐतिहासिक, धार्मिक, राजनीतिक, सामाजिक र पर्यटकीय लगायतका विविध कोणबाट अलग–अलग महत्व सहितका प्रतिष्ठा कायम गरेको तथ्यहरुका विश्लेषणयुक्त बारम्बार चर्चामा मात्र नभई अनेकौं किताबहरु समेत बाहिर आएका छन् । प्रत्येक विषयका बारेमा ब्याख्या गर्ने हो भने भिन्न भिन्न मोटा किताबहरु बन्ने तथ्यमा शंका छैन । पौराणिक कालमा पाण्डवहरुको वनबास खण्डका हिडिम्वा नगरीदेखि विभिन्न कालखण्डमा सामन्त शोषकहरुसँग शोषित पीडित वर्गले गरेको वर्गीय संघर्षको ऐतिहासिकता अनि शहिद स्मारक तथा त्रिवेणीधाम जस्ता आकर्षक स्थलहरुका निर्माणले यो शहरको थप पहिचान कायम गरेको छ ।

२. यस आलेखको सन्दर्भलाई शिक्षासँग जोडिएको छ । मकवानपुर जिल्लामा तत्कालिन राणाशासनको समयमा वि.सं. २००४ सालमा आधार स्कूलको नामबाट हालको महेन्द्र मा.वि. भिमफेदीबाट औपचारिक शिक्षाको शुरुवात भएको र राणाकालको अन्त्य पश्चात हालको हेटौँडामा भने वि.सं. २००८ सालमा हटियामा मिडिल स्कूलको नामबाट हालको बालबोध मा.वि. संचालनमा आएको पाईन्छ । तत्कालिन हेटौंडामा वि.सं. २०१६ सालमा स्थापना भएको हालको भूटनदेवी मावि नै हेटौँडाको पहिलो औपचारिक स्कूल जस्ले देशव्यापी पहिचान बनाएको ऐतिहासिक शिक्षालयको रुपमा स्थापित भन्न सकिन्छ । तत्पश्चात वि.सं.२०१७ मा राष्ट्रिय प्राथमिक स्कूलको नामबाट स्थापित हालको बंशगोपाल मावि चौघडा प्रारम्भ भएको हो । यस्को एक दशक भित्र र तत्पश्चात क्रमशः त्रिभुवन मावि नवलपुर, ज्योति मावि हर्नामाडी, राष्ट्रियरुपमै चर्चित आधुनिक राष्ट्रिय मावि हेटौँडा, जनप्रिय मावि हटिया, सिद्धार्थ मावि हेटौँडा, प्रगति मावि पशुपतिनगर, महेन्द्र मावि पदमपोखरी, राजदेवी मावि हटिया, बालज्योति मावि पिप्ले, श्रमिक मावि कर्रा, ज्ञानदा मावि हेटौंडा, चन्द्रोदय मावि कमाने, निर्मल मावि बस्तीपुर, महेन्द्र किरण मावि बसामाडी, जनज्योति मावि मयुरधाप, जनजागृति मावि रातोमाटे, नवज्योति मावि नागस्वती, त्रिभुवन मावि हटिया, चुरियामाई मावि चुरियामाई, बुद्ध मावि पान्तले, बालजागृति युवावर्ष मावि गौरीटार, गोरक्षेश्वर मावि हर्नामाडी, बाल उज्जवल मावि लेवट, अमर मावि हेटौँडा लगायतका कुल ३१ वटा सामुदायिक र ३४ वटा संस्थागत गरी जम्मा ६५ वटा माध्यमिक विद्यालयहरु संचालनमा रहेका छन् । जबकि, मकवानपुर जिल्लामा कुल १४१ वटा माध्यमिक विद्यालयबाट २०८० सालको एसईईमा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको तथ्याङ्कमा जनाइएको छ । हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाले उल्लेख गरे अनुसार यस हेटौँडा नगरमा कक्षा १–३ संचालित ५ वटा, कक्षा १–५ संचालित १८ वटा र कक्षा १–८ संचालित २१ वटा सामुदायिक विद्यालयहरु रहेका छन् ।

३. हेटौँडा बजार अर्थात नगरको मध्यभागमा उच्च शिक्षा प्रदानका लागि त्रिभुवन विश्वविद्यालयको आंगिक कलेज वन विज्ञान अध्ययन संस्थान सँगै कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत वन विज्ञान संकायका स्नातक तथा स्नातकोत्तर तहको अध्ययन अध्यापन भइरहेको छ । त्रिविविबाट संवन्धन प्राप्त सामुदायिक कलेज देशमै प्रसिद्ध मकवानपुर क्याम्पसले विज्ञान, वाणिज्य, मानविकी, शिक्षा संकायका अनेकौं विषयहरु स्नातकोत्तर तहसम्म अध्ययन अध्यापन गर्दै आएको छ । वि.सं. २०३७ सालबाट रत्नज्योति बहुमुखी क्याम्पस काठमाडौंको विस्तारित रुपमा संचालित यो मकवानपुर क्याम्पसले आफ्नो पहिचान कायम गर्न शुरुवातको ५ वर्ष कडा मिहिनेत गरेकै हो । हालै बागमती प्रदेश सरकारले बागमती प्रदेश विश्वविद्यालय स्थापना गर्ने निर्णयसँगै मकवानपुर क्याम्पसलाई नै यो प्रदेश विश्वविद्यालयको रुपमा बुझ्न थालिएको छ । त्यस्तै शिक्षा क्याम्पसको रुपमा देशमै आफ्नो चिनारी कायम गर्न सफल हेटौँडा क्याम्पस त्रिविविबाट संवन्धन प्राप्त अर्को सामुदायिक कलेज हो । हेटौँडा क्याम्पसले पनि स्नातकोत्तर तहसम्मका विषयहरु अध्ययन अध्यापन गर्दै आएको छ ।

४. त्यस्तै त्रिविविबाट संवन्धन लिई स्नातक तहका शिक्षा, वाणिज्य, मानविकी संकाय अन्तर्गतका विषयहरु अध्ययन अध्यापन गराउँदै आएका सामुदायिक कलेजहरुमा बंशगोपाल बहुमुखी क्याम्पस चौघडा, निर्मल बहुमुखी क्याम्पस बस्तीपुर, पदमपोखरी क्याम्पस संचालनमा रहेका छन् । हटिया जनप्रिय क्याम्पस यसै वर्षबाट हेटौँडा क्याम्पसमा मर्ज भइसकेको जनाइएको छ । त्रिविविबाट संवन्धन प्राप्त नीजि कलेज हेटौँडा स्कूल अफ म्यानेजमेन्टको थप परिचय दिई रहन नपर्ला जुन ंदेशकै चर्चित कलेज विज्ञान तथा वाणिज्य शास्त्रमा स्नातक र स्नातकोत्तर तहको अध्ययन अध्यापन गर्दै आएको छ । त्यस्तै जेनिथ ईन्टरनेशनल कलेज, नारायणी कलेजले आईटी लगायतका विषयहरुमा समेत नीजिस्तरमा स्नातक तहसम्मका कक्षाहरु संचालन गर्दै आएका छन् । गत वर्षबाटै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य शिक्षा अन्तर्गत नर्सिङ तथा फार्मेसीका कक्षाहरु संचालन गरिरहेको छ ।

५. प्राविधिक शिक्षामा हेटौँडा अग्रस्थानमा रहेको तथ्य सर्वविदित छ । सिटिईभिटिबाट स्वीकृत प्राप्त सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा, टेक्स अन्तर्गत मकवानपुरमै पहिलो, वि.सं. २०६० सालबाट जनप्रिय मावि हटियामा कृषि तथा पशु विज्ञानका प्रि–डिप्लोमा तथा डिप्लोमाका कक्षाहरु शुरुवात हुँदै आएकोमा हालै इलेक्ट्रिक इन्जिनियरिङको डिप्लोमा तहको कक्षा समेत संचालनमा रहेको छ । वि.सं. २०७५ बाट बंशगोपाल मावि चौघडामा सिभिल तथा जियोमेट्रिक्स (सर्भे) विषयका ३ वर्षे डिप्लोमा तहका कक्षाहरु संचालनमा छन् । त्यस्तै ज्योति मावि हर्नामाडीमा कम्प्युटर इन्जिनियरिङ, निर्मल मावि बस्तीपुरमा इलेक्ट्रिक इन्जिनियरिङ, सिद्धार्थ मावि हेटौंडामा वन विज्ञानका डिप्लोमा तहका कक्षाहरु संचालनमा रहेका छन् । जनजागृति मावि रातोमाटेमा प्रि–डिप्लोमा तहको अटोमोबाईल ईन्जिनियरिङका कक्षाहरु संचालनमा रहेका छन् ।

भूटनदेवी मावि हेटौँडामा तत्कालिन शिक्षा विभाग हालको मानवश्रोत तथा विकास केन्द्रको स्वीकृतिमा कक्षा ९–१२ का प्राविधिक विषयहरु सिभिल इन्जिनियरिङका कक्षाहरु संचालनमा रहेका छन् । सँगै, यसै हेटौँडा उपमहानगरको ६ नम्बर वडा गौरिटारस्थित नेपाल भारत पोलिटेक्निकल शिक्षालयमा हाल मेकानिकल ईन्जनियरिङका डिप्लोमा तहका कक्षाहरु संचालनमा रहेका छन् । यो राष्ट्रिय गौरवको प्राविधिक शिक्षालयसँग जोडिएको र यसको निर्माण कार्य सम्पन्न पश्चात करिब ३ दर्जन विषयहरुमा अत्यन्त न्यून शुल्कमा प्राविधिक शिक्षा प्रदान गर्ने लक्ष्य बोकेको यो शिक्षालय हाल पनि निर्माणाधिन अवस्थामै रहेको छ । नीजि संस्थाको रुपमा मकवानपुर टेक्निकल ईन्स्टिच्यूटले अहेव तथा हेअसहित ल्याब एसिस्टेन्टका कक्षाहरु संचालन गर्दै आएको छ ।

६. यस हेटौँडा नगरका प्राविधिक शिक्षालयहरुमा मकवानपुरका अतिरिक्त विशेषगरी मधेश प्रदेशबाट अत्यधिक विद्यार्थीहरु अध्ययनका लागि आएको देखिन्छ । माध्यमिक तहमा समेत हेटौँडा बजारका विद्यालयहरुमा करिब साठी प्रतिशत विद्यार्थीहरु मधेश प्रदेशबाट आएको सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुले जनाउनुभएको छ । त्यस्तै हेटौँडाका सामुदायिक तथा नीजि क्याम्पसहरुमा समेत मधेश प्रदेशबाट आएका विद्यार्थीको बाहुल्यता सहजै देख्न सकिन्छ । मधेश प्रदेशबाट मात्र होइन, बागमती प्रदेशकै सिन्धुली, दोलखा, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लाका विद्यार्थीहरु यहाँका प्राविधिक कक्षाहरुमा सहजै भेट्न सकिन्छ । सिटिईभिटि छात्रवृत्तिमा विशेषगरी कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र गण्डकी तथा लुम्विनी प्रदेश अनि कोशी प्रदेशका विद्यार्थीले समेत हेटौँडाका शिक्षालयहरु रोजेको पाईन्छ ।

७. अन्तमा, उल्लेखित अवस्थाले हेटौँडालाई शैक्षिक हव बनिरहेको शहर भन्दा अत्युक्ति हुने छैन । हेटौँडाको समग्र शैक्षिक अवस्थाले मकवानपुरको मात्र नभई यस राष्ट्रकै प्रतिनिधित्व गरिरहेको छ । शैक्षिक स्तरीयतामा रत्ति पनि सम्झौता नगर्ने यहाँका शिक्षण संस्थाहरुको विशेष पहिचान परीक्षा प्रणाली रहेको छ । प्रत्येक कक्षा र तहका परीक्षा बोर्डका नतिजाहरुले स्वयम् प्रमाणित गरिरहेका छन् । कक्षा शिक्षणमा कुनै कमजोरी बाँकी नराख्ने यहाँका शिक्षकहरु, प्रशिक्षकहरु र प्राध्यापकहरु परीक्षामा भने हदै कठोर बन्दै आएको परम्परा नै मकवानपुर अझ हेटौँडाको पहिचान रहेको छ । यद्यपि सुधार गर्नुपर्ने कुराहरु अझ धेरै छन् । बिग्रेकालाई सच्याउनु पर्ने र नयाँ अभ्यास गर्नुपर्ने विषयहरुमा हामी अलग चर्चा गरिरहेका छौं । आगामी दिनमा थप उत्कृष्टताका साथ हेटौँडाले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा समेत शैक्षिक हव बनाउने अभियानमा सफलताको अपेक्षा गरिएको छ । (लेखक सेवानिवृत्त शिक्षक हुनुहुन्छ ।)