द्रुत प्रतिकार्य टोली (क्यूआरटी) का सदस्यलाई हेलमेट लगाउनुहुँदै मन्त्री अमन कुमार मास्के ।

हेटौँडाः बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विपद्बाट प्रभावित सडक शिघ्र सञ्चालनका तथा क्षति न्यूनीकरणका लागि द्रुत प्रतिकार्य टोली (क्यूआरटी) गठन गरेको छ । बुधबार एक समारोहका बीच मन्त्रालयले विपद् प्रभावित सडकहरुको अवस्था सुधार गर्ने तथा नागरिकहरुको यात्रा सहज बनाउन क्यूआरटी गठन गरी कार्य प्रारम्भ गरेको हो ।

प्रदेशको १३ जिल्लामा पहिचान भएको प्रादेशिक सडकहरुमा भएका विपद्का घटनाबाट सडक पूर्वाधारको क्षति विवरण संकलन, न्यूनीकरण तथा प्रतिकार्य लगायतका काम क्यूआरटीले गर्ने मन्त्रालयका सचिव अमृत श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार क्यूआरटीको संयोजकमा यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाका निर्देशक पुस्कर प्रसाद पोखरेल रहनुभएको छ । क्यूआरटीको सदस्यमा मन्त्रालयका महाशाखा प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारी, मन्त्रालयका विपद् फोकल पर्सन ज्यानेन्द्र प्रसाद पुन, यातायात पूर्वाधार निर्देशनालयको निर्देशकले तोकेको अधिकृतस्तरको प्रतिनिधि हरिप्रसाद ओझा र सम्बन्धित जिल्लाको पूर्वाधार विकास कार्यालयका प्रमुख रहनु हुनेछ ।

टिमले अवरुद्ध भएका मुख्य प्रादेशिक सडकहरुको पहिचान गर्ने कार्य निरन्तर गर्ने, सूचना सम्प्रेषण गर्ने, वैकल्पिक मार्ग पहिचान गर्ने, आकस्मिक रुपमा अवरुद्ध सडकहरु यथाशीघ्र सुचारु गर्ने, अन्तर निकाय समन्वय गर्नेछ भने कार्यालयगत रुपमा आकस्मिक मर्मत सम्भार शीर्षकमा विनियोजित बजेटबाट स्रोत व्यवस्थापन गर्ने र प्रचलित कानूनको अधिनमा रही टोली स्वयम्बाट निर्धारित अन्य कार्यक्षेत्रगत शर्तहरुको कार्यान्वयन गर्नेछ ।

क्यूआरटी कार्य प्रारम्भ गर्नुहुँदै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्केले जनसरोकारका सवालमा प्रदेश सरकार उत्तरदायी र जिम्मेवार ढंगबाट अघि बढेको बताउनुभयो । विगतमा हुँदै आएको प्रक्रियागत कामलाई प्राथमिकीकरण गरेर जवाफदेही र उत्तरदायी ढंगबाट अघि बढाउने प्रयत्न मन्त्रालयले गरेको उहाँले स्पष्ट पार्नुभयो ।

जनउत्तरदायी भूमिकाले काम गर्न मन्त्रालयले क्यूआरटी गठन गरेको उहाँको भनाई छ । प्रदेश सरकारले आम सरोकारका विषयमा स–साना काम प्रभावकारी ढंगबाट गर्न सके मात्र जनतालाई डेलिभरी दिन सकिने उहाँले बताउनुभयो । उहाँका अनुसार विशेषगरी क्यूआरटीले प्रदेश सडक गुरुयोजना (पिआरटीएमटी) मा रहेका २५० सडक आयोजनाको अवस्था, विपद् जोखिम र क्षतिका विषयमा अध्ययन, अनुसन्धान तथा प्रतिकार्यका लागि काम गर्नेछ ।

मन्त्रालयले विगतमा सुरु गरेका र हाल बन्द अवस्थामा रहेका आयोजनाहरुको अध्ययन गरेर निश्कर्षमा पु¥याउने गरी पहल गरेको मन्त्री मास्केले बताउनुभयो । उहाँले रुग्ण आयोजनाहरुलाई अध्ययन गरेर पूर्णता दिने गरी अध्ययन टोली खटाएर यही साउन २४ गते प्रतिवेदन पेश गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।