कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख देवराज घिमिरे ।

हेटौँडाः प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देशमा युवा शक्तिलाई ठीक ढंगबाट प्रयोग गर्न सकेमा अवसर प्राप्त हुने बताउनुभएको छ । बिहीबार हेटौँडामा भएको युवा सीप बर्ष तालिमको प्रमाणत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले चुनौतिहरु आफैँमा एउटा अवसर भएकोले चुनौतीको ठीक ढंगबाट सामना गर्न सकेमा त्यस चुनौतीलाई अवसरमा परिवर्तन गर्न सकिने बताउनुभयो ।

चुनौतीहरुको ठीक तरिकाबाट सामना गर्न सकेमा त्यसले समाजलाई आधारभूत रुपमा रुपान्तरण गर्न कठिन नहुने उहाँले बताउनुभयो । संसारको विभिन्न राष्ट्रहरुमा भएको परिवर्तन र परिवर्तनमा विभिन्न समूहका मानव समूदायहरु र युवाहरुको भूमिकालाई आफूले स्मरण गरेको उहाँले बताउनुभयो । विश्वको विभिन्न मूलूकहरुमा भएको आर्थिक, औद्योगिक, सामाजिक, साँस्कृतिक र अनेक प्रकारका चुनौतीहरुको सामना गर्नका लागि युवाहरुको संख्या, क्षमता, गुण, इच्छाशक्ति र चिन्तन कस्तो भन्ने कुराको पनि मूल्यांकन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

युवा पिढीलाई निश्चित दिशामा ल्याउनका लागि धेरै दायित्वहरु बढिरहेको उहाँले बताउनुुभयो । देशको जनसंख्याको तथ्यांकलाई हेर्दा बिसं २०४७ सालमा जन्मदर घट्दै गएको तथ्यांकमा उल्लेख रहेको उहाँले बताउनुभयो । युवाहरुको संख्या वृद्धि हुँदै आएको र युवा शक्ति उल्लेखनीय ढंगबाट ३० बर्षको अवधीमा ठूलो संख्यामा आइरहेको उहाँले बताउनुभयो । युवाहरुले राष्ट्र निर्माणका लागि निर्वाह गरेको भूमिकाले मूलुक धेरै अगाडि जाने परिस्थित देखिएको उहाँले आँकलन गर्नुभयो । युवाले राष्ट्रियताका लागि दिनुपर्ने योगदानहरु दिनुपर्ने उहाँले बताउनुभयो । उत्पादन शक्तिलाई विकास गर्ने, आत्मनिर्भर बन्ने, रोजगारीको अवसरको खोजी गर्ने र रोजगारीको अवसरलाई निरन्तर कार्यान्वयन गरेर समाजको उदाहरण बनेर देखाउनुपर्नेमा सुझाव उहाँले दिनुभयो ।

सरकारले लिएको नीतिहरु र नीतिलाई कार्यान्वयन गर्ने नीतिहरु कमि–कमजोरी भएपनि हुन सक्ने उहाँको धारणा छ । सबै युवाले सरकारको कमिकमजोरीलाई देखाउन भन्दा पनि कम्जोरीको सामना गरेर अगाडि बढ्न साहस गर्नुपर्ने उहाँले बताउनुभयो । युवाहरुको काँधमा आएको दायित्वहरुलाई बोध गरेर अगाडि बढ्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, प्रतिनिधि सभा सदस्य तथा सत्तारुढ दलका प्रमुख सचेतक महेशकुमार बर्तौला, बागमती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँ, जगन्नाथ थपलिया, एकालाल श्रेष्ठलगायतको आतिथ्य रहेको थियो ।

आर्थिक वर्ष २०८०÷८१ मा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश युवा परिषद्ले आयोजना गरेको विभिन्न सीपमूलक तालिममा सहभागीलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । परिषद्ले गत आर्थिक वर्षमा झण्डै ४ हजार जनालाई सीपमूलक तालिम प्रदान गरेको छ ।