रमेशप्रसाद लामिछाने

१. सन्दर्भः २०८१ साल असार १३ गते २०८० को एसईई नतिजा सार्वजनिक । नियमित परीक्षाको नतिजा पश्चात मौका परीक्षाको अवसर परम्परा नै बन्दै आएको छ । कुनैबेला यस्को नाम आंशिक परीक्षा थियो । कुनैबेला मौका परीक्षा भयो । कुनैबेला ग्रेड बृद्धि परीक्षा भनियो । किनकि यो प्रकृतिका परीक्षा बढिमा दुई विषयसम्म अनुत्तिर्ण हुनेका लागि हो । तत्कालिन एसएलसीलाई मात्र होइन, हालको एसईईलाई मात्र पनि होइन । कक्षा ११ र १२ मा मात्र पनि होइन । विश्वविद्यालयस्तरका स्नातक तथा स्नातकोत्तर तहमा समेत मौका परीक्षाको व्यवस्था गरिँदै छ । पछिल्ला वर्षहरुमा स्थानीय तहहरुले समेत आधारभूत तह अर्थात कक्षा आठको परीक्षामा समेत मौका परीक्षाको अवसर प्रदान गरेको उदाहरण छ । कतिपय विद्यालयहरुले अन्य कक्षाहरुमा समेत वार्षिक परीक्षाको नतिजा पश्चात मौका परीक्षा संचालनका अभ्यास गरेको पाइन्छ । प्राविधिक शिक्षामा पनि मौका परीक्षाको अवसरका अभ्यास भइरहेका छन् । सैद्धान्तिक परीक्षामा मात्र नगरी पछिल्ला वर्षहरुमा कतिपय शिक्षालयहरुले प्रयोगात्मक परीक्षामा समेत मौका परीक्षाको अभ्यास गरेका उदाहरण छन् । हाम्रो देशमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि यो प्रकृतिका मौका परीक्षाका अभ्यास पर्याप्त भइरहेको छ । कक्षा र तहका आधारमा कति विषयसम्म अनुत्तिर्णलाई कति पटकसम्म अवसर दिने भन्नेमा भने विविधता पाइएको छ । यो स्वभाविक रुपमा लिने गरिएको छ ।

२. मौकाको मौका किन दिने ? किनकि विद्यार्थी मूल्याङ्कन प्रणाली कक्षा र तह अनुसार कुनै दुई घण्टे, कुनै तीन घण्टे र कुनै चार घण्टे पेपर पेन्सिल टेष्टमा आधारित छ । वार्षिक परीक्षा प्रणालीमा आन्तरिक परीक्षा, होमवर्क, प्रोेजेक्ट वर्क, क्लास वर्क, प्रयोगात्मक परीक्षा, निर्णायक नबनेको वा नबनाइएको हुन्छ । कक्षा चढ्न वा तह पार गर्न सत्रान्तमा सैद्धान्तिक परीक्षामा तोकिएको घण्टामा तोकिएका सवालको जवाफ दिनैपर्ने र उत्तीर्ण हुनैपर्ने हाम्रो शिक्षा प्रणाली छ । बिरामी परेका कारणले, आफन्तको मृत्यु भएका कारणले, घरायसी अन्य कारणले, प्राकृतिक वा दैवी प्रकोपका कारण लगायतका अन्य प्रतिकूल अवस्थामा परीक्षा प्रभावित हुनु स्वभाविक हो । राम्रा भनिएका विद्यार्थीहरु पनि यस्ता परीक्षामा अनुत्तिर्ण हुने गरेका प्रशस्त उदाहरण भएकाले परिक्षार्थीको प्रतिकूलता मात्र हैन, परीक्षाको बेला परीक्षा हलको वातावरण, निरीक्षकको व्यवहार, प्रश्नपत्रको सान्दर्भिकता र स्तरीयता समेतले नतिजामा पार्ने प्रभाव पनि असफलताका कारक बनेको अवस्था रहन्छ । परीक्षकको हचुवा परीक्षण शैली र परम्परागत विधिमा पाइने बेमेल अर्को महत्वपूर्ण कारण रहन्छ । परीक्षण पश्चात पनि नतिजा प्रकाशित गर्ने बेलासम्मका प्राविधिक कार्यहरु कुनैबेला कारक बनेका पर्याप्त उदाहरण देखिएका । सबै प्रतिकूल नतिजामा पुनःपरीक्षण र पुनर्योग नभएका वा नगरिएका वा औपचारिकता पूरा गर्दै यथावत लेख्दै आएका वर्षौंका अभ्यास हुन् । यहि र यस्तै कारणहरुले गर्दा अनेकौं विद्यार्थीले बीचमै पढाइ छाड्ने (ड्रप आउट) अवस्था देखिन्छ । बिदेशिन बाध्य, सपनाहरु सपनामै सीमित हुन र बनाउन बाध्य, अनुत्तीर्ण सबै विषयमा मौका परीक्षाको अवसर सबै कक्षा र तहमा अझ विश्वविद्यालयस्तरमा समेत लागु हुने नीति विधिको अपेक्षा नहुन सक्छ ।

३. सतहका टिप्पणी ? नन ग्रेडेड (एनजी) भएका सबै विषयमा मौकाको अवसर प्रति विभिन्न टिप्पणी भइरहेका छन् । कतिपयले यो निर्णयप्रति मजाक उडाउँदै भोलि सबै पास भन्न सक्ने हाम्रो शिक्षा मन्त्रालय भन्दै खरो ब्यङ्ग्य गरेको छ । सदनमा तीव्र आलोचना भएकाले शिक्षा मन्त्रीले डराएर गरेको निर्णय पनि भनिएको छ । बढिमा दुई विषयको परम्परा तोडेर आएको गलत निर्णयको रुपमा पनि व्याख्या गरिएको छ । विगतमा जस्तो सैद्धान्तिक र प्रयोगात्मक दुबै जोडेर ३० प्रतिशतमा उत्तीर्ण गर्ने परम्पराको अन्त्य भएको छ । कूल १.६ जीपीए ल्याएपछि कक्षा ११ मा प्रवेश हुने मानसिकतामा पहिरो गएको छ । यस वर्ष मूल्याङ्कन प्रणाली फेरिएर सैद्धान्तिकमा मात्रै कम्तिमा ३५ प्रतिशत ल्याउनै पर्ने बाध्यता विद्यार्थीमा छ । ग्रेडेड र नन ग्रेडेडको दुई खाले अवधारणा छ । घुमाउरो तरिकाले फेरी २०७२ साल भन्दा अघिकै पास फेलको पुनरागमन भएको मान्न सकिन्छ । यहि गर्नु थियो त गत ९ वटा एसईईका नाममा शैक्षिक खेलवाड र मजाक सहितका लेटर ग्रेडिङ नतिजाका नाटक मञ्चनले उब्जाएको शैक्षिक स्तरीयताका क्षतिका आँकलन कस्ले र कहिले गर्ने ? एसईई–२०८० को नतिजामा मात्र ४७.८६ प्रतिशत मात्र कक्षा ११ मा प्रवेशका लागि योग्य हुनुको प्रभाव के हो ? कुल परीक्षार्थी मध्ये आधा पनि उत्तीर्ण गराउन नसक्नुको कारण शिक्षा प्रणालीकै गल्ती त होइन ? शिक्षामा गरिएको यत्ति ठूलो लगानि बालुवामा पानी हाले जस्तो भयो कि ? अझ सामुदायिक विद्यालयको त मात्र ११.८८ प्रतिशत मात्र उत्तीर्ण छन् । अनुत्तीर्ण संख्या २,४२,३१३ जना विद्यार्थीको डरलाग्दो चित्र देखिन्छ । कैंयौं स्थानीय तहहरुमा शुन्य नतिजा छ । कक्षा ११ मा अनेकौं विद्यालयको ढोका बन्द हुने अवस्था छ ।

४. अपग्रेडका लागि मौका ? सैद्धान्तिक र प्रयोगात्मक दुबैका प्राप्ताङ्क जोडेर उत्तीर्ण घोषणा गर्दा प्रयोगात्मकमा कम्तिमा पनि २५ पूर्णाङ्कमा २० अंक स्कूलबाट दिने अनि सैद्धान्तिकमा ७५ पूर्णाङ्कमा १५ अंक लेखेर ल्याउने जम्मा जोडेर ३५ पुग्ने र उत्तीर्ण हुने अवस्था आफैंमा विश्लेषण योग्य रहेको थियो । सैद्धान्तिक विषयको मौका परीक्षाबाट धेरै विद्यार्थी लाभान्वित भएका उदाहरण छन् । मौका परीक्षाकै कारणले शैक्षिक यात्राले निरन्तरता पाएको थियो । बिगतमा एक वा दुई विषय अनुत्तीर्ण भएकाले मौका पाउँदा पनि राहतको महसुस भएको हुनुपर्छ । विद्यालयका अन्य कक्षाहरुको वार्षिक परीक्षा प्रकाशन गर्नुअघि ग्रेस सिस्टमको प्रचलन नै छ । एक थरि, विषयगत ग्रेस जस्मा एक विषय, दुई विषय अझ तीन विषयसम्म पनि फेल भएकालाई उत्तीर्ण घोषणाको चलन थियो । अब अर्को चाहीँ, छरुवा भन्दै निश्चित अंक दश, बीस, तीस र अझ आवश्यकता परे सो भन्दा बढि ग्रेस दिने चलन पनि छ । हाम्रा विद्यालयहरुमा यी दुई मध्ये कुनै एक वा दुबै ग्रेस सिस्टम कार्यान्वयनको अभ्यास छ । दुबै ग्रेस सिस्टमका असल र खराब पक्षहरुका परिणाम सुनिएका र देखिएका पर्याप्त उदाहरण छन् । छरुवा अंक ग्रेस दिने विधि तुलनात्मक रुपमा सकारात्मक । एउटाको सात वटा विषयहरु मध्ये मानौं पाँचवटामा जम्मा बीस अंक पुगेन, अर्कोको मानौं दुई विषयमा मात्र क्रमशः दश र पन्ध्र छ र यो दोश्रोलाई उत्तीर्ण गर्न छरुवा अंक दिँदा जम्मा पैंतालिस अंक आवश्यक हुन्छ । यसरी हेर्दा, छरुवा अंकले सकारात्मक नतिजा हासिल हुने अवस्था रहन्छ । कहिलेकाहीँ, एउटा विषयमा मात्र पाँच अंक आएको र बाँकी सबै उत्तीर्ण भएकोलाई पच्चिस अंक छरुवा भन्दा एक विषय ग्रेस हुँदा उत्तीर्ण हुने अवस्था रहन्न । समग्र अनुत्तीर्ण विषयगत नतिजा विश्लेषण गरी ग्रेस सिस्टम निर्धारण गर्ने अभ्यासमा प्राथमिकताको अपेक्षा गर्नुपर्छ ।

५. अन्तमा, मौका परीक्षाको इतिहासमा यस पटक एसईई अनुत्तीर्ण अर्थात् नन ग्रेडेड भएका सबै विषयहरुमा मौका प्रदान गर्ने निर्णय आएको छ । एक वा दुई विषय मात्र होइन, चार, पाँच वा अझ बढी विषयमा मानौं अठार, बीस, एक्काईस, बाईस, चौबिस जस्ता अंक ल्याउने विद्यार्थीलाई यो निर्णयले उत्साहित गरेको स्पष्ट छ । कूल नतिजामा बृद्धि हुने विश्वास गर्न सकिन्छ । यस बर्ष कक्षा ११ को ढोका बन्द भएकाहरुका लागि विशेष राहत हुनेछ । उत्तीर्णाङ्कको नजिक नजिक पुगेर नन ग्रेडेडको भार बोकेका विद्यार्थीका लागि सकारात्मक सन्देश हो । कक्षा ११ नचल्ने अवस्थामा पुगेकालाई पनि राहत पुग्ने विश्वास गर्न सकिन्छ । अत्यन्त कमजोरलाई त एकै विषयले पनि पछि नपार्ला भन्ने के आधार ? पासै गरेर देखाउँछु भन्नेलाई एक महिना भन्दा बढिको समय पर्याप्त हुन्छ । ग्रेडेड भएरै अगाडिको शैक्षिक यात्राको निरन्तरताका लागि सम्बन्धित विद्यार्थीहरुमा शुभकामनासहित आह्वान गर्दछु । सारमा, यहि श्रावण महिनामा संचालन हुने मौका परीक्षाबाट यो नतिजा कम्तिमा पनि सत्तरी प्रतिशत उत्तीर्ण पार गर्ने अपेक्षा भए पनि यी सवाल अझै अनुतरित्त छ । मौका परीक्षाको नतिजा आउन कम्तिमा दुई महिना लाग्नेछ । मौका परीक्षाबाट उत्तीर्ण विद्यार्थी यसै बर्ष कक्षा ११ मा भर्ना गराउने हो भने कक्षा ११ का विषयको क्रेडिट आवर छ महिनामा पूरा हुन नसक्ने स्पष्ट छ । अब, कक्षा १२ मा समेत अनुत्तीर्ण सबैले मौका परीक्षाको मौका पाउने हो कि ? होइन भने, कक्षा १० र कक्षा १२ को परीक्षा निर्देशिका फरक हुनै पर्ने स्थिति छ ।