हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले खानेपानी महसुलमा दिँदै आएको छुट सुविधामा कटौति गरेको छ । यही साउन महिनादेखि लागु हुनेगरी उपमहानगरपालिकाले न्युनतम महसुल बराबरको खपत गर्ने उपभोक्ताहरुलाई मात्र छुट सुविधा दिने भएको छ । २०७९ साल भदौ महिनादेखि हेटौँडा उपमहानगरपालिकाले हेटौँडा खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा सबै उपभोक्ताका लागि न्यूनतम महसुल छुटको व्यवस्था गरेको थियो ।
हेटौँडा उपमहानगरपालिकाले न्यूनतम महसुलवापत मासिक १७ लाख रुपैयाँदेखि २४ लाख रुपैयाँसम्म बोर्डलाई भुक्तानी गर्दै आएको थियो । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका २८ हजार ग्राहकले न्युनतम महसुल (१० हजार लिटर पानी) वापत मासिक ८५ रुपैयाँ छुट पाइरहेका थिए । २०८१ साल साउन महिनादेखि भने न्युनतम महसुल बराबरको पानी खपत गर्ने उपभोक्ताहरुलाई मात्रै छुट दिने निर्णय भई कार्यान्वयनमा आएको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकृत सञ्जय न्यौपानेले जानकारी दिनुभयो ।
२०८१ असार महिनासम्म सबै ग्राहकलाई न्युनतम महसुल छुट गर्दा हेटौँडा उपमहानगरपालिकालाई मासिक करिब २४ लाख रुपैयाँ भार पर्ने अवस्था थियो भने २०८१ साउनदेखि न्युनतम महसुल बराबरको पानी खपत गर्ने उपभोक्ताहरुलाई मात्रै छुट दिँदा करिब सात लाख रुपैयाँ मात्रै भार पर्ने देखिन्छ । न्युनतम महसुल बराबरको पानी खपत गर्ने उपभोक्ताहरुलाई मात्रै छुट सुविधाले उपमहानगरपालिकालाई केही भार कम भएको र नयाँ व्यवस्थाअनुसार न्युनतम खपत गर्ने उपभोक्ताको संख्यामा पनि केही वृद्धि हुन सक्ने हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी न्यौपाने बताउनुहुन्छ ।
२०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख उम्मेदवारहरुले पानी र विजुलीको न्यूनतम महसुल छुट दिने घोषणा गरेको थियो । अहिले आएर पानीमा न्यूनतम महसुल उपभोग गर्ने उपभोक्तालाई मात्रै छुटको व्यवस्था गरिएको छ भने विजुलीमा छुट दिने घोषणा कार्यान्वयन गर्न सकेको छैन ।