नेकपा भित्रको विवादले नेपाली राजनीति यतिबेला तरंगित भएको छ । काम कुरा एकातिर कुम्ला बोकी ठिमीतिर भन्ने उखान जस्तै नागरिकका समस्या छाडेर नेकपामा सत्ताको रँडाको चर्किएको छ । जनताका माग र आवश्यकता पन्छाउँदै सत्ताको हानाथापमा नेताहरु लागेका छन् । जति लुकाए पनि देखिएको विषय नेताहरुको पदप्रतिको आशक्ति नै हो । २००७ सालदेखि अहिलेसम्म कुनै सरकारले संविधानले व्यवस्था गरेको पुरा अवधि शासन गर्ने मौका पाएका छैनन् । जसले गर्दा नेपालले विकास गर्न नसकेको भनिँदै आएको छ । यही नारालाई मुद्दा बनाउँदै चुनावमा गएको नेकपालाई नागरिकले यस पटक बहुमतका साथ स्थिर सरकारको जनादेश दिएका हुन् । तर जुन जोगी आए पनि उस्तै भन्ने उखान चरितार्थ हुने अवस्था देखिँदै गएको छ ।
अस्थिर राजनीतिले देश अविकासको दलदलमा फस्दै गएको छ । ६/६ महिनामा सरकार परिवर्तन हुने अवस्थालाई अन्त्य गर्ने चाहना अनुसार एकलौटी सरकार बनाउन नेकपालाई अभिमत प्राप्त भएको हो । आन्दोलन सफल बनाउने तर सरकारमा आफ्ना योजना र एजेण्डा कार्यान्वयन गर्न भने असफल हुने नेतृत्वको विशेषता नै बन्ने गरेको छ । करिव अढाई वर्षसम्म सरकारका कामबाट नागरिकमा उत्साह छैन । यसैबीच सत्तारुढ दल भित्रको कचिङ्गलले भावी यात्रा पनि अनिश्चित बन्दै गएको छ । लोकतान्त्रिक शासन प्रणालीमा दलहरु कमजोर हुन हुँदैन । आन्तरिक एकताले मात्र शासन सत्ता जनपक्षीय हुन सक्छ । त्यसैले दल भित्रका विवादले निकास पाउनै पर्दछ । यसका लागि तल्लो तहबाट नेतृत्वलाई दवाव दिनु आवश्यक हुन्छ ।
कोरोनाले देश अस्तव्यस्त छ । उचित व्यवस्थापन हुन सकेको छैन । विकास निर्माण योजना अलपत्र छन् । छाक टार्न समस्या परेकाहरु राहतको अपेक्षामा छन् । स्वास्थ्य सुरक्षा चुनौती बन्दै गएको छ । तर कमिसन र भ्रष्टाचारका विषयहरु बग्रेल्ती बनेका छन् । यस्ता समस्या माथि गम्भीर छलफल गरेर सुशासनको प्रत्याभुति दिनु पर्ने सत्तापक्षको जिम्मेवारी हो । राष्ट्रिय मुद्दामा अन्य दललाई समेत साथ लिएर अगाडि बढ्नु पर्ने समयमा पार्टी भित्रैको कलहले दुनिया हँसाउने काम भएको छ । यस अवस्थामा कार्यकर्ताहरु कुनै एक नेता वा पक्षमा भन्दा पार्टी एकताका लागि दवाव दिने काममा लाग्नु आवश्यक छ । तर माथिदेखि तल्लो तहसम्मका कार्यकर्ताहरुमा एकताको भन्दा गुटकै मात्र चिन्ता देखिएको छ । गुटको चिन्ताले पार्टी एकता हुन सक्दैन ।
जनमत आफ्ना पक्षमा देखाउने र अर्को पक्षलाई थर्काउने उद्देश्यबाट देशव्यापी प्रदर्शन गराउने काम पनि भएका छन् । तर यस्ता जुलुसहरु एकताका लागि दवाव दिन हुनु आवश्यक छ । भन्न त एकताकै नाराका साथ हुने गरेका प्रदर्शन हुने गरेका छन् । तर त्यस्ता प्रदर्शनहरुमा कुनै एक नेताको जयजयकार गर्दा अर्को पक्षले मन अमिलो बनाउने छ । एक पक्षको वकालत गर्दा एकताको सन्देश जाला त ? एकताका लागि दवाव हो भने दुवै पक्षलाई खबरदारी हुन आवश्यक हुन्छ । समानता भित्र मात्र एकता हुन सक्छ । त्यसैले एक पक्षलाई ताली र अर्को पक्षलाई गाली गर्दा पार्टी भित्र एकता भन्दा विग्रहको वातावरण बन्न सक्छ । तसर्थ सबैले सबैको अस्तित्व स्विकार गरेर मात्र एकता हुने कुरालाई बिसर्नु हुँदैन ।