हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको नियमित स्वास्थ्य जाँच गरिएको छ । सोमबार मुख्यमन्त्री पौडेलको मुटु र आँखाको जाँच गरिएको हो । काठमाडौंको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा मुटु एवम् तिलगंगा आँखा अस्पतालमा आँखाको जाँच गरिएको हो । मुटु स्वास्थ्य विशेषज्ञ डा. चन्द्रमणि अधिकारी र आँखा स्वास्थ्य विशेषज्ञ डा. सन्दुक रुईतले मुख्यमन्त्री पौडेलको स्वास्थ्य परीक्षण गर्नुभएको हो ।
चिकित्सकका अनुसार मुख्यमन्त्री पौडेलको मुटु एवम् आँखाको अवस्था सामान्य रहेको छ । नियमित स्वास्थ्य जाँचका लागि उहाँ शनिबार काठमाडौं जानुभएको थियो । मुख्यमन्त्री पौडेलको २०७६ साल जेठमा मुटुको एन्जियोप्लास्ट डा. अधिकारीको टीमले र २०७५ चैतमा देब्रे आँखाको मोतिबिन्दुको शल्यक्रिया डा. रुईतको टीमले गरेको थियो ।