जनप्रिय माविको अंग्रेजी प्रयोगशालाको निर्माणमा जुटेका शिक्षक, विद्यार्थी ।

हेटौंडाः हेटौंडा–१६, हटियास्थित जनप्रिय माविले अंग्रेजी विषयको प्रयोगशाला तयार पारेको छ । विद्यालयका शिक्षकहरु कैलाश धिताल, रविन श्रेष्ठ र नीरबहादुर खड्काको समूहले विद्यार्थी र अभिभावकको समेत सहयोग र सहभागितामा प्रयोगशाला निर्माण गरेको हो । एक साताको अवधिमा तयार पारिएको प्रयोगशालामा अंग्रेजी विषयको व्याकरण अध्ययनका लागि विद्यार्थीलाई सहज हुने बताइएको छ ।

अंग्रेजी विषयको प्रयोगशालामा राखिएको एक सामग्री ।

करिब २० हजार लागतमा तयार पारिएको प्रयोगशालाबाट अंग्रेजी विषयको सिकाई अभ्यास प्रभावकारी हुनुका साथै विद्यार्थीलाई सिक्न पनि सजिलो हुने शिक्षक कैलाश धितालको भनाइ छ । अंग्रेजी भाषा अधिकांश विद्यार्थीका लागि गाह्रो विषयको रुपमा रहने गरेकोमा प्रयोगशालाको प्रयोगबाट सिकाई सहज हुने अपेक्षा गरिएको छ । अंग्रेजी व्याकरणको प्रयोगका बारेमा बुझ्न बुझाउन प्रयोगशाला उपयोगी हुने शिक्षक रविन श्रेष्ठको भनाइ छ ।

प्रयोगशालामा विद्यार्थीले सहभागी भएर अंग्रेजी भाषाको ज्ञानका लागि खेलका माध्यमबाट सहजै शव्दज्ञान बढाउने, शव्द र वाक्यको प्रयोग बारे सहजै बुझ्न सकिने शिक्षक धितालले दावी गर्नुभएको छ । जनप्रिय माविले यसअघि सामाजिक र गणित विषयको पनि प्रयोगशाला निर्माण गरिसकेको छ ।