हेटौँडाः बागमती प्रदेश सभाको बैठक साउन ६ गते बस्ने भएको छ । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले असार ६ गते दिउँसो १ बजेका लागि प्रदेशसभा बैकठ आव्हान गर्नुभएको छ ।
बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्ताव माथि छलफल हुने कार्यसूचि रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा सभामुख पाठकले प्रदेशसभाको बैठक आव्हान गर्नुभएको हो । मुख्यमन्त्री जम्कट्टेलले नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव प्रदेश सभामा पेश गर्नुहुनेछ ।
केन्द्रमा नयाँ समीकरण निर्माण भएसँगै मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । केन्द्रमा एमाले कांग्रेस सत्ता साझेदारी अनुसार सरकार गठन गर्ने तयारी भएसँगै असार २३ मा नेकपा एमाले जम्कट्टेल नेतृत्वको सरकारबाट बाहिरिएको थियो । एमालेले सरकारको समर्थन फिर्ता लिँदै ५ जना मन्त्रीलाई सामुहिक राजिनामा गराएको थियो । त्यससँगै अल्पमतमा परेको प्रदेश सरकारको नेतृत्व गरिरहनुभएका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिन संसद सचिवालयमा पत्राचार गर्नुभएको छ ।
मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तथाव माथि छलफल गर्नुअघि सभामुख पाठकले कार्यव्यवस्था परामर्श समितिको बैठक समेत आह्वान गर्नुभएको छ । सभामुख पाठकले साउन ५ गते दिउँसो ३ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक आव्हान गर्नुभएको छ । सो बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको प्रक्रिया र संसदको अन्य कार्यसूचि तयार गर्नेछ ।