हेटौँडाः हेटौँडा उपमहानगरपालिकाका १० वटा विद्यालयका विभिन्न तहका शिक्षक छनोटको प्रक्रिया वडाअध्यक्षहरुले रोकेका छन् । शिक्षक छनोट समितिमा विज्ञ छनोटको विषयलाई लिएर वडाअध्यक्षहरुले असन्तुष्टि जनाउँदै गत शनिबारका लागि तय भएको शिक्षक छनोट परीक्षा रोकेका हुन् ।
हेटौँडा उपमहानगरपालिकाले शिक्षक बैंक तथा कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यविधि–२०८१ पारित भइसकेको सन्दर्भमा करार शिक्षक छनोटको अन्तिम चरणको प्रक्रिया सुरु हुनै लाग्दा हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा निर्धारण गरिएको परीक्षा केन्द्रमा पुगेर वडाअध्यक्षहरुले रोकेका हुन् । हेटौँडा–४, ६, १५ र १६ नम्बर वडाअध्यक्षहरु क्रमशः नवीन सिग्देल, विष्णुबहादुर दाहाल, सुनिल मोक्तान र रामकृष्ण कोइरालाले परीक्षा रोकेका हुन् । १६ नम्बर वडाअध्यक्ष हेटौँडा उपमहानगरपालिकाको सामाजिक विकास समितिको संयोजक समेत हुनुहुन्छ ।
“परीक्षा केन्द्र भुटनदेवी माविमा निर्धारण गरेर १० वटा विद्यालयका लागि तहगत विज्ञसहितको समूहले परीक्षा सञ्चालन गर्नै लाग्दा शनिबार बिहान ८ बजेको समयमा वडाअध्यक्षहरु आउनुभयो । विज्ञ छनोटको प्रक्रियामा असन्तुष्टि जाउँदै परीक्षा नै रोक्न भन्नुभयो”, हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाका अधिकृत हरिचन्द्र सापकोटाले भन्नुभयो, “वडाअध्यक्षहरुले नै विमति जनाएपछि हामीले परीक्षा सञ्चालन गर्ने स्थिति बनेन ।” शिक्षक बैंक तथा कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यविधि–२०८१ मा परीक्षा समितिमा २ जना विज्ञ शिक्षा विकास महाशाखा प्रमुखले तोकेका व्यक्ति हुने व्यवस्थाप्रति वडाअध्यक्षहरुले विमति जनाउनुभएको उहाँको भनाइ छ ।
शनिबार हेटौँडा–४ स्थित श्रमिक मावि र भुटनदेवी मावि, हेटौँडा–६ स्थित कृष्ण प्रावि, हेटौँडा–९ स्थित प्रगति माविमा एक एकजना बालविकास सहयोगी कार्यकर्ता, हेटौँडा–३ स्थित बालउज्वल मावि, हेटौँडा–१८ स्थित कालिदेवी प्रावि, हेटौँडा–१५ स्थित चुरियामाई मावि र विश्वज्योति माविमा प्रावि शिक्षक एक एकजना नियुक्तिका लागि परीक्षा हुँदै थियो । यस्तै हेटौँडा–४ स्थित भुटनदेवी माविमा सिभिल इन्जिनियरिङ र हेटौँडा–१६ स्थित जनप्रिय माविमा बालीविज्ञान विषयका लागि प्रशिक्षक नियुक्ति र हेटौँडा–१४ स्थित भृकुटी माविमा लेखापाल नियुक्तिका लागि परीक्षा लिने तयारी हुँदै गर्दा वडाअध्यक्षहरुले परीक्षा रोकेका हुन् ।
उपमहानगरपालिकाले शिक्षक बैंक तथा कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यविधि कार्यान्वयनको प्रक्रिया अगाडि बढाएकै कारण गत बैशाख महिनादेखि नै शिक्षक नियुक्तिका लागि सूचना गरेका विद्यालयहरुले कार्यविधिले अन्तिमपटकका लागि भनेर एकैपटक परीक्षा सञ्चालन गर्ने भनेपछि शिक्षक छनोटको परीक्षा समेत ढिलो गरी भएको थियो । नयाँ शैक्षिकसत्र सुरु भएर नियमित पठनपाठन भइरहेको र विद्यालयमा शिक्षक अपुग भएर समस्या भइरहेको बेला वडाअध्यक्षहरुले शिक्षक छनोटको परीक्षा नै रोकेर थप समस्या सिर्जना भएको एक प्रधानाध्यापकले गुनासो गर्नुभयो ।